काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेश सरकार एकलौटी सञ्चालन गरेको भन्दै नेपाली काँग्रेस असन्तुष्ट देखिएको छ । माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारले सत्ता सञ्चालनमा सल्लाह नगरी मनमौजी गरेको भन्दै काँग्रेस असन्तुष्ट देखिएको हो ।
मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारी कामकारबाही गर्दा आफूहरूसँग सल्लाह नगरेको काँग्रेस नेताहरूले गुनासो गरेका छन् । उनीहरूले हिजो (शनिबार) प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर यस्तो गुनासो गरेका हुन् । काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा.रणबहादुर रावलसहित केही नेताहरूले प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम सरकारले काँग्रेसलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा डा.रावलसहित प्रमुख सचेतक गोविन्द बोहरा र सांसद भरत खड्का सहभागी थिए ।
दलका नेता डा.रावलले पाँच दलीय संयुक्त गठबन्धन सरकारको सरकारी कामकारबाही, गतिविधि, विकास निर्माण, प्रशासनिक कार्य लगायतका विषयमा प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी दिए । गठबन्धन सरकारको पछिल्लो जानकारी, दलहरूबीचको वैचारिक तथा सरकारी समझदारी, पार्टीको अधिवेशन र विकास निर्माण लगायतका विषयमा ब्रिफिङ गरेको रावलले बताए । उनले माओवादी केन्द्र नेतृत्वको सरकारले आफ्नो पार्टीसँग सल्लाह, सुझाव नै नगरी काम अगाडि बढाइरहेको गुनासो गरे ।
प्रदेश सभा संसदीय दलका नेता डा.रावल, प्रमुख सचेतक बोहरा र सांसद खड्काको ब्रिफिङपछि प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूसँग आफूले सुदूरपश्चिम सरकारका बारेमा थप छलफल गर्ने आश्वासन दिएका छन् । हाम्रो ब्रिफिङप्रति प्रधानमन्त्रीज्यू गम्भीर बन्नु भएको छ । संयुक्त गठबन्धनको सरकारभित्र यस्ता असन्तुष्टि आउनु राम्रो पक्ष नभएको र यस बारेमा आफूले गठबन्धन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने बताउनु भएको छ, भन्छन्, सांसद खड्का ।
गठबन्धनका हिसाबले सत्ता साझेदार दलहरूसँग सल्लाह नै नगरी काम भैरहेका छन् । ‘प्रशासनिक तथा न्यायीक कार्यमा पनि एकलौटी भैरहेको छ । त्यस्तै कर्मचारी सरुवा, बढुवा गर्दा सल्लाह नै छैन । नीति, नियमको पालना पनि भएको देखिँदैन । यदि सरकारी स्तरबाट यस्ता कार्य गर्ने नै हो भने साझेदार दलहरूसँग पनि सल्लाह गर्नुपर्ने रावल तर्क गर्छन् । उसो भए तपाईंहरू सरकार परिर्वतन गर्ने तयारीमा हुनुहुन्छ भन्ने प्रश्नमा रावलले खुलेर भन्न भने सकेनन् । बरु उनले सरकार परिर्वतन नै मुख्य विषय नभएको बताए । तर, विधि, पद्धतिअनुसार सरकार र सत्ता साझेदार दलहरू चल्नुपर्छ । व्यक्तिभन्दा पनि सात्ता साझेदार दल सबै मिलेर सामुहिक कार्य गर्दा सहज हुन्छ भन्ने हो ।’
सांसद खड्का भन्छन्, ‘प्रधानमन्त्री ज्यूसँग पार्टीको आसन्न १४ औँ राष्ट्रिय महाधिवेशनको बारेमा छलफल र सरसल्लाह लिन आएको हौँ । योसँगै सुदूरपश्चिम प्रदेश सरकारको बारेमा पनि ब्रिफिङ गरेका छौँ । यद्यपि ब्रिफिङका हामीले सरकार नै परिवर्तन होस् भन्न चाहेका छैनौँ । बरु संयुक्त गठबन्धनको सरकार भएकाले सरकारी कामकारबाहीमा काँग्रेसलाई पनि समेट्नु पर्छ भन्ने हो । माओवादी केन्द्र नेतृत्वको सरकारले सरकारी काम गर्दा एकलौटी ढंगले गरिरहेको छ । त्यसो नहोस् भन्ने मात्रै हो ।
सुदूरपश्चिम प्रदेश सरकारमा अहिले माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)मात्रै सहभागी छन् । केन्द्रमा भने काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) सहितको गठबन्धन सरकार छ । तथापि सुदूरपश्चिममा काँग्रेस सरकारमा नभएकोले बेवास्ता गरिएको भन्दै प्रधानमन्त्री देउवासँग काँग्रेसका नेताहरूले गुनासो गरेका हुन् । उक्त प्रदेशमा माओवादी केन्द्रबाट मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार छ । उनलाई यतिबेला एकीकृत समाजवादीको समर्थन रहेको छ भने यसअघि भट्टले विश्वासको मत लिँदा काँग्रेस तटस्थ बसेको थियो ।
सुदूपश्चिम प्रदेशमा संसदीय अंकगणित अनुसार ५२ सदस्यीय प्रदेश सभा छ । काँग्रेसका १२, माओवादी केन्द्रका १३ र नेकपा (एस)का १४ जना सांसद छन् । प्रतिपक्षी एमालेका १० जना मात्रै सांसद छन् । जसपा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक/एक सांसद छन् ।