• असार २३ २०८१, शनिबार

डण्डिबियो विस्थापन गरी आएको भलिबल

आश्विन २४ २०७८, आईतवार

नेपाल सरकारले २०७४ सालमा डण्डिबियोको साटो भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गर्दा मलाई खुसीले फुरुङ्ग बनाउन सकेन । बरु नरमाईलो लाग्यो डण्डिबियो र मेरो सम्बन्धलाई सम्झिएर । म डण्डिबियोको एक कुशल खेलाडी थिएँ । हामी फुर्सदका हरेक क्षणमा दुईचारजना साथीहरु मिलेर डण्डिबियो खेल्दथ्यौं ।

२०३२ सालमा हामीले गाउँ पञ्चायत स्तरीय डण्डिबियो प्रतियोगिता आयोजना गरेको पनि मेरो मानसपटलमा ताजै छ र झण्डै सय जनाभन्दा बढी दर्शकहरु प्रतियोगिता हेर्न झुम्मिएको दृश्य मेरो सम्झनामा चलिचित्रमा दृश्यहरु आए झै आइरहन्छन् ।

डण्डिबियो नेपालको पुरानो खेल हो । नेपालको डण्डिबियो, ब्रिटेनको टिपक्याट र भारतको गिलिडण्डा उस्तैउस्तै खेलहरु हुन् भन्न सकिन्छ । हाम्रो देशको हिमाल, पहाड, तराइ सबैतिर प्रचलित खेल डण्डिबियोलाई पहिले राष्ट्रिय खेलको रुपमा चिनिन्थ्यो । डण्डिबियो नियमबद्ध खेल हो । डण्डिबियो खेलको आफ्नै नियमहरु छन् ।

खेल हरेक टीममा एकएक जना वा बढीमा दुई दुईजनासम्म हुन्छन् । डण्डिबियो खेल्नको लागि खेलाडीसँग काठको दुई फिट लामो एउटा डण्डी (लठ्ठी) हुन्छ भने छ इन्च लामो बियो हुन्छ । खेलको मैदानको लम्बाई करीब करीब ४० मिटर हुन्छ भने चौडाई ५० मिटर जति हुन्छ । ठाउँ हेरी मैदान अण्डाकार वा आयाताकारको हुन्छ ।
खेल खेल्नको लागि मैदानको एकापट्टीको छेउमा करीब पाँच मिटर छोडेर बीचमा पर्ने गरी चारइन्च गहिरो छ इञ्च लामो खोल्सो बनाइन्छ ।

खेल कसरी खेलिन्छ ?

खेलमा एक पक्ष हुतेल्ने र अर्को पक्ष फर्काउने हुन्छ । हुतेल्नेले खोल्सोलाई चिर्ने गरी बियोलाई खोल्सोमा राख्दछन् । विपक्षी खेलाडी सामुन्ने करीब बीस पच्चीस मिटर पर डण्डी लिएर उभिन्छन् । हुतेल्ने खेलाडीले खोल्सोमा राखेको बियोलाई डण्डीले हुतेलेर जतिसक्दो टाढा फयाँक्छ ।
विपक्षी खेलाडीले बियो भूँईमा नखस्दै डण्डीले नै हानेर फर्काउन सक्छ । त्यसरी फर्काउँदा बियोले खोल्सो काट्यो भने खेलाडी आउट हुन्छ । बियो भूँईमा खस्यो भने बियो हुतेल्ने खेलाडीले डण्डीलाई खोल्सोलाई चिरेर बीचमा राख्दछ । विपक्षीले हुतेलेको बियोलाई टिपेर हुतेल्नेको डण्डीलाई टोल्न फयाँक्छ । फयाँक्दा बियो टोल्न सक्यो भने पनि हुतेल्ने खेलाडी आउट हुन्छ ।

बियो हानेर डण्डीलाई टोल्न नसकेपछि हुतेल्ने खेलाडी आउट हुदैन । आउट नभएको खण्डमा उस्ले डण्डीले बियोलाई ट्याक लगाउन पाउँछ । ट्याक लगाउने भनेको डण्डीले बियोलाई एक, दुई, तीन गन्दै ठोक्दै माथि फाल्ने हो । ट्याक लगाउने कला नै यस खेलको सबैभन्दा महत्वपूर्ण र रमाइलो पक्ष हो ।

ट्याक लगाउन कलाले नै दर्शकहरुलाई रमाइलो दिन्छ र हुटिङ्ग पनि हुन्छ । ट्याक जति धेरै पटक लगायो त्यति फायदा हुन्छ । एक, दुई, तीन, चार ट्याक लगाउँदै भूँइँमा नखसाली बियोलाई डण्डीले हानेर जतिसक्यो उति टाढा फलिन्छ । त्यसपछि बियो पुगेको ठाउँबाट डण्डीले नाप्दै खोल्सोसम्म पुगिन्छ ।

बियो र खोल्सोको दूरी नाप्दा जति डण्डी भयो त्यसलाई ट्याक लगाएको मात्राले गुणन गरेर (दुरी गुणन ट्याक बराबर गुणनफल) अंक जोडिन्छ । जस्तै ट्याक लगाउने खेलाडीले तीन ट्याक लगायो र पन्ध्र मिटर पर बियो फयाँकेछ भने साठी अंक जोडिन्छ । एकभन्दा बढी ट्याक लगाउन नसकेमा त्यो गणना हुदैन भने ट्याक लगाउँदा एक ट्याक पनि लगाउन सकेन भने पनि खेलाडी आउट हुन्छ र विपक्षीको हुतेल्ने पालो आउँछ ।

डण्डिबियो खेलको समय एक घण्टाको हुन्छ । बराबर भएमा आधा घण्टा थपिन्छ । सवै खेलाडी आउट भएमा चाँडै पनि सकिन्छ दुबै टोलि पालैपालो खेल्दछन् । अन्तिममा जसको अंक बढी भयो उही खेलाडी वा टिमले जित्दछ ।

हामी सानोमा गोठाला जाँदा लठ्ठी राम्रो बनाउने धुनमा तल्लिन हुन्थ्यौं । तिनताका घर नगिचै बरण्डाभार जंगल थियो । हामी रुखको सलक्क परेको हाँगो वा सालको लुकुना खोज्दथ्यौं र लठ्ठी काट्दथ्यौं । हातमा डण्डी र झोलामा जहिले पनि एउटा बियो हुन्थ्यो ।

खुर्पा पनि गोठाला जाँदाको अभिन्न साथी हो । खुर्पालाई खुर्पेटामा राख्दथ्यौ । हिड्दा खुर्पा र खुर्पेटाकोे आबाज सुन्न रमाइलो हुन्थ्यो । चउरभरि डण्डिबियो खेलिन्थ्यो । बाजी थापिन्थ्यो, हार्नेले जित्नेको डिंयाँ हेर्नु पर्दथ्यो ।

एकदिन हामी डण्डिबियो खेल्दै थियौं । मैले हुतेलेको बियो विपक्षी साथीले लठ्ठीले जोडले फर्काउँदा त्यो बियो सोझै मेरो मुखमा लाग्यो । छरर्रर रगत आयो । हामी सबै डरायौं । सबैले डण्डिबियो खेल्दा हो नभन्ने भनेर सल्लाह ग¥यौं ।

साथीहरुले हतार हतार मलाई घर लगे । घरबाट मलाई सोझै स्वास्थ्य क्लिनिकमा पु¥याइयो । डाक्टरले टिन्चर आयोडिन लगाउँदा चहराएको पीडा मलाई अझै छ । र, ओठमा चोटको चिनो पनि छ ।

आधुनिक खेलहरु भलिबल, फुटबल, क्रिकेट गोल्फ वा टेनिस समाजका आवश्यकता हुन् । तर नेपालको खेल पहिचान भने होइनन् । नेपालमा उत्पति भएको एउटा मात्र खेल डण्डिबियो हो । डण्डिबियो खेल राष्ट्रिय सम्पदा हो । सम्पदा राष्ट्रिय पहिचान हो ।

नेपालको प्राचीन खेल के हो ? भन्ने कुनै विदेशीको प्रश्नको उत्तरमा हामी डण्डिबियो भनौला । डण्डिबियोको बारेमा सुनाउँदा निकै चाख मानेर सुन्ला पनि । ऊ फुर्सदिलो रहेछ भने खेल हेर्न पनि खोज्ला । तर कहाँ लगेर देखाउने ? म्युजियममा ।

समाजमा अहिले कम्प्युटर र मोबाइलमा आउने गेमहरुको उपनिवेश खडा भै सकेको छ । केटाकेटी युवा, बूढा तीनै अअन्त्य खेलहरुमा घण्टौ हराएका देखिन्छ । जुन खेलहरु शरीरिक र मानसिक विकासका परम शत्रु पनि हुन्र । नेपाली युवाहरुले नाम सुनेका होलान् तर डण्डिबियो खेलेको देखेका छैनन् होला ।

अब कतिपयलाई त खेल्ने नियम पनि जानकारी छैन होला । यही प्रवृत्ति हुर्कदै गयो भने बिस्तारै डण्डिबियो नेपालको ईतिहासका किताबहरुमा मात्र सीमित हुन पनि सक्छ । डण्डिबियो लोप भयो भने नेपालीको पहिचान पनि हराएर जान्छ, खेल जगतमा ।

किन आधुनिक र नेटवर्क गेमहरुसँग डण्डिबियोलाई जोगाउन सकेनौ ? किन आधुनिक खेलप्रति मात्र हाम्रो आकर्षण बढ्यो । एउटा गम्भीर प्रश्न सम्पदाप्रेमी, पर्यटनप्रेमी र खेलप्रमीलाई छ । र सबैभन्दा ठुलो प्रश्न सरकारलाई छ । हामीले हाम्रो प्राचीन खेललाई बिर्सियौ ।

जापानमा प्राचीन सुमो खेल कति रमाइलोसँग हेर्छन्, जापानिजहरु । भारतले पनि कबड्डीको संरक्षण र विकास गरेको छ । सम्पदाको संरक्षण विकासको पहिचान हो । विकसित देशहरुले प्राचनि कथाका फुँदाहरु जोडेर राखेको हामीले भ्रमणमा जाँदा सुन्ने र हेर्ने गरेका छौं ।
प्राचीन खेलको संरक्षणले देशको इतिहास र सँगै पहिचान पनि संरक्षण हुन्छ । पर्यटकहरु आफनो देशमा नभएको नवीन गेम हेर्ने अवसर मिल्दा रमाउँछन् पनि । संरषणले युवापुस्तामा राष्ट्रप्रति माया गर्ने बानीको विकास गर्दछ ।

यसकारण डण्डिबियो खेलको संरक्षण गर्नु पर्दछ र हामी सबै डण्डिबियोको संरक्षणमा जुटनु पर्छ । देशमा खेलकूदको विकास गर्न राष्ट्रिय खेलकूद परिषद छ । मन्त्रालय पनि छ । परिषदले खेल र खेलको इतिहास संरक्षणको लागि तत्कालै पहल गर्नुपर्दछ ।

राष्ट्रिय खेलकूद परिषदले खेल संरक्षण गर्दा सर्वप्रथम प्राचीन खेलमा समय समयमा विकसित खेल खेल्ने नियम, खेल सामाग्री, मैदान र खेलाडीको संख्या बुझनु पर्दछ । साथै, खेल खेल्ने प्रक्रिया र खेलको निर्णय हुने प्रक्रिया पनि जान्नु पर्दछ ।

खेलका विषयमा जानकारी संकलनपछि आधुनिक परिवेशको हृदङ्गम गर्दै खेलको नियम परिमार्जन गर्न उचित हुन्छ । डण्डिबियोको संरक्षणमा संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकार सबैको बराबर जिम्मेवारी हुन्छ ।

तर स्थानीय सरकार जनताको नगिच रहेर सेवा प्रवाह गर्ने सरकार भएकाले डण्डिबियोको संरक्षणमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहन्छ ।

राष्ट्रिय खेलकूद परिषदले शिक्षा मन्त्रालय र स्थानीय तहहरुको समन्वयमा डण्डिबियो पुनर्जागरण अभियान सञ्चालन गर्नु पर्दछ । स्थानीय सरकारले स्थानीय स्कूल तथा समाजमा खेलका भिन्न भिन्न प्रतियोगिता सञ्चालन गरेर खेलप्रति युवाहरुलाई आकर्षित गर्नु पर्दछ भने अध्ययन अनुसन्धान गरी खेलमा रमाइला रमाइला पक्षहरु पनि समेटनु पर्दछ ।

खेलको लागि आवश्यक बजेटको व्यवस्था गरी हरेक वर्ष बडा वा स्कूल वा पालिकस्तरमा खेलका विभिन्न टुर्नामेन्टहरु सञ्चालन गर्नु पर्दछ भने शिल्ड र पदकको व्यवस्था पनि गर्नु पर्दछ । विजेता टीमको लागि पुरस्कार र खेलाडीलाई सम्मान पनि राख्नु पर्दछ ।

खेलकूद परिषदको सक्रियता र सरकारका तीनै तहको सहयोगमा भोलिका दिनहरुमा गाउँसहरमा डण्डिबियो खेल फस्टाउँदै जानु पर्दछ भन्ने आशा खेलप्रेमीहरुमा रहेको छ ।