• मंसिर १२ २०८१, बुधबार

प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक केही हुन सक्दैन : प्रधानमन्त्री देउवा

आश्विन २४ २०७८, आईतवार

पोखरा। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताएका छन्। गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दै आइतबार प्रधानमन्त्री देउवाले भने ‘सबैले सुने हुन्छ- प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक कोही हुन सक्दैन,प्रजातन्त्रको खिलापमा कसैले अरु कुनै किसिमको सपना नदेखे हुन्छ, प्रजातन्त्रको रक्षा गरेको पार्टी हो।’

नयाँ सरकार गठन र त्यसपछिका घटनालाई लिएर विपक्षीले गरेको आलोचनामा भने उनले निर्वाचनले त्यसको परिणाम देखाउने बताए । ‘सबैले जनादेशको कुरा गरेका छन् । जनताको नाम सबैले लिन्छन् । जनताले को ठिक छ भनेर भोटमा देखाई हाल्छन् नि,’ उनले भने ।

उनले संघीयता पूर्ण रुपमा कार्यान्वयन गर्न धेरै काम बाँकी रहेको बताए। देशमा विकासको काम अलि छिटो छरितो रुपमा अघि बढाउन आवश्यक रहेको उनको भनाइ छ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ को महामारीसमेत नियन्त्रण हुँदै गएको बताए।

कोभिड महामारी रोक्न उल्लेखनीय भूमिका खेलेको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई धन्यबाद दिएको उनले सुनाए।