काठमाडौं । तराईका उखु किसानहरूले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् । २०७१ सालदेखिकै करिब १३ करोड रुपैयाँ उद्योगीले अझै पनि किसानलाई दिएका छैनन् ।
बक्यौता रकम तुरुन्तै नदिए दसैंपछि आन्दोलन चर्काउने उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए । ‘हिन्दुको दसैं जस्तो ठूलो चाडपर्वमा पनि किसानलाई भुक्तानी दिइएको छैन,’ उनले भने । अन्नपूर्ण चिनी मिल सर्लाहीले किसानको ६ करोड तिर्न बाँकी छ ।
श्रीराम सुगर मिल रौतहटले तीन करोड भुक्तानी अझै गरेको छैन । इन्द्र सुगर मिल नवलपरासी र लुम्बिनी चिनी मिलले किसानको दुई–दुई करोड दिएका छैनन् । गत वर्ष किसानलाई ९० करोड भुक्तानी दिन बाँकी थियो ।
समस्या समाधानका लागि सरकारले उद्योग, कृषि र अर्थ मन्त्रालय सम्मिलित एक कार्यदल बनाएको थियो । ९० करोडमध्ये २५ करोड विवादित भनिएको थियो । ६५ करोड भुक्तानी गर्न उद्योगी सहमत भएका पनि थिए तर, कैयौं पटकको आन्दोलनपश्चात् उनीहरूले हालसम्म ५२ करोड मात्रै तिरेका छन् ।
किसानले २५ करोड पाउने र नपाउने अझै अन्योल छ । ‘उखु किसानले आन्दोलन गर्छन् । सरकारले सुने जस्तो गर्छ । उद्योगीले चारो फाले झैं किसानलाई भुक्तानी दिए जस्तो गर्छ,’ सर्लाहीको सिसौटियाका ६५ वर्षीय उखु किसान रामविलास महतो भन्छन् ।
महतो बक्यौता उठाउन बस चढेर काठमाडौं आएको धेरै पटक भयो । किसानले नगदमा उब्जाएको उखु उधारोमा बेच्न बाध्य छन् । ऋण काढेर वर्ष दिन लगाएर उब्जाएको उखु क्रसिङ गरेर उद्योगी ७२ घण्टामा चिनी बनाउँछन् । बिक्री गरेर मालामाल बन्छ तर उखु उब्जाउने किसानले पाँच वर्षसम्म भुक्तानी पाउँदैनन् ।
पाँच वर्षयता उखुको बक्यौता रकम नपाउने किसानको संख्या सर्लाहीमा मात्रै १० हजार छ । ‘सरकार उद्योगीसँग मिलेर हाम्रो पसिनाको कमाइ छिपाउँछन्,’ रामविलासले भने । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।