• मंसिर १२ २०८१, बुधबार

मन्त्री नपाएपछि तराईमा उपेन्द्र यादवको पुत्ला जलाइयो

आश्विन २३ २०७८, शनिबार

काठमाडौं । मन्त्रिपरिषद् विस्तारपछि उपेन्द्र यादवको भित्रको विवाद छताछुल्ल भएको छ । मन्त्रिपरिषद् विस्तारपछि जसपाभित्र देखिएको असन्तुष्टि सडकमा समेत देखिएको हो । पर्साबाट चुनाव जितेका प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै उनका कार्यकर्ताले हिजोदेखि पर्सामा प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनमा जसपाका अध्यक्ष उपेन्द्र यादवको पुत्ला समेत जलाइएको छ । असन्तुष्ट नेता कार्यकर्ताले पार्टाी कार्यालयको साइनबोर्ड र पार्टीको झण्डा पनि जलाएका छन् । शनिबार अध्यक्ष यादवको विरुद्धमा पर्सामा मोटरसाइकल र्याली निकालिएको छ ।

प्रदर्शनकारीहरूले उनको विरोधमा चर्का नाराबाजी गरेका छन् । उनीहरुले अध्यक्ष यादवलाई पर्सामा निषेध गर्ने घोषणा गरेका छन् । यादवले मन्त्री चयनको निर्णय नसच्याए पार्टीमा भयावह स्थिति आउनसक्ने प्रदर्शनकारीहरूले चेतावनी दिएका छन् ।

प्रदर्शनमा सांसद प्रदीप यादवले जनाधार र योगदानको कदर गर्नबाट नेतृत्व गम्भीर रुपमा चुकेको आरोप लगाए । मधेस आन्दोलनको उद्दगमस्थल र आन्दोलनको आँधीबेहेरी ल्याउने स्थानलाई नजर अन्दाज गरेको आरोप लगाउँदै यादवले फोरम नेपालको स्थापनादेखि बलिदान र योगदान दिँदै आएको वीरगञ्ज फेरि ठगिएको आरोप लगाए ।

उनले भने, ‘पर्सामाथि अन्याय भएको छ, त्यसको नतिजा पार्टीका शीर्ष नेतृत्वले भोग्नुपर्छ ।’ यता, सर्लाहीबाट चुनाव जितेका प्रमोद साह पनि अगामी कदमबारे आफू निकट नेता तथा कार्यकर्तासँग सल्लाह गरिरहेका छन् । जसपाबाट मन्त्री बन्ने तयारीमा रहेका प्रमोद साहको नाम अन्तिम समयमा हटाइएको थियो ।

राष्ट्रपति कार्यालयमा मन्त्रीहरुको सूची पठाउने क्रममा उनको नाम हटाएर महेन्द्र राययादवको नाम समावेश गरिएको थियो । आफ्नो नाम हटाएपछि आक्रोशित भएका साहले जसपाको नेतृत्व पंक्तिप्रति गम्भीर प्रश्न उठाएका छन् ।