रोमन या ऐथेन्स नगरराज्यबाट सुरु भएको जनताको सहभागिताको शासन पद्धति (नाम जे दिए पनि लोकतन्त्र गणतन्त्र प्रजातन्त्र) ले यहाँसम्म आइपुग्दा धेरै आरोह अवरोह पार गरिसकेको छ ।
विभिन्न आरोह अवरोहको क्रममा विभिन्न अभ्यास पनि हुँदै आएको छ । यस क्रममा प्रजातन्त्र शब्दको पुनर्बाेध गरी जनतालाई वास्तविक रुपमा सार्वभौम बनाउने शासन पद्धतिको आग्रहका साथ लोकतन्त्रको अविष्कार भएको हो भन्ने गरिन्छ ।
वास्तवमा लोकतन्त्र भनेको विचार, दर्शन, मूल्य र मान्यता अनुरुपको व्यवहारमा फस्टाउने पद्धति हो । विचार दर्शन र मुल्य मान्यता छ भनेर मात्र हुँदैन । त्यस अनुसारको व्यवहार चाहिन्छ ।
यसै मान्यतालाई आत्मसात् गरी राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा १६ ले गरेको कानूनी व्यवस्थाअनुसार ‘संघीय प्रदेश तहका समिति सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा १ मा केन्द्रिय समिति तथा प्रदेश समितिमा प्रत्येक पदधिकारिको निर्वाचन विधानमा व्यवस्था भएबमोजिम प्रत्येक पाँच वर्षमा कम्तिमा एक पटक गर्नु पर्ने र उपदफा २ मा यदि विशेष परिस्थिति उत्पन्न भई पाँच वर्ष भित्रमा त्यस्ता पदाधिकारिको निर्वाचन सम्पन्न हुन नसकेमा विधानमा व्यवस्था भए बमोजिम आयोगलाई जानकारी गराइ त्यस्तो अवधि पूरा भएको मितिले ६ महिनाभित्र त्यस्ता पदाधिकारीको निर्वाचन गर्नुपर्ने रहेको छ ।
सोहि कानुनी र संवैधानिक व्यवस्थाअनुसार नै अहिले महाधिवेशन हुँदैछ । जसअनुसार नेपाली काग्रेसको नयाँ कार्यतालिकाअनुसार मार्ग ९ गतेदेखि १३ गते सम्म १४ औं महाधिवेशन गर्दैछ भने नेकपा एमालेले पनि यही आश्विन ५, ६, ७ गते विधान महाधिवेशन गरी मार्ग महिनामा नै १०औं महाधिवेशन गर्दैछ र अन्य दलको पनि हुँदैछ ।
पार्टीको महाधिवेशन भनेको पार्टी जीवनलाई जीवन्त राख्ने लोकतान्त्रिक मूल्य मान्यता अन्तर्गत नै पर्दछ । हाम्रो बोलि व्यवहारमा मूल्य र मान्यतालाई समनार्थी शब्दको रुपमा लिए पनि सार रुपमा यी दुईबीच पनि भेद वा भिन्नता रहेको हुन्छ ।
मान्यता भनेको धेरै हदमा संरचनात्मक पक्षसँग सम्बन्धित हुन्छन् भने मूल्य भनेको आन्तरिक गुण जसले खास प्रकारको पद्धतिको लागि उत्साह, आदर, विश्वास, जिम्मेवारी, आत्मअनुशासन र निष्पक्षतालाई बोध गराउँछ । लोकतन्त्रका मूल्यहरुले लोकतन्त्रका संरचना र कार्यपद्धतिका लागि आधार दिन्छ ।
सोहि कार्यपद्धतिका आधार निर्माणको लागि माहाधिवेशन गर्नै गरिन्छ । पार्टीको सिद्धान्त मार्गदर्शन विधिविधान निर्माण, परिमार्जन, संशोधन, नीति निर्देश, समीक्षा, योजना निर्माण सफल कार्यान्वनसँगै पार्टी नेतृत्व निर्माण गर्ने महत्वपूर्ण थलो हो महाधिवेशन ।
त्यहाँ लाखौं कार्यकर्ताले विधानतः प्रतिनिधि छनोट गरी आफ्ना भावना विचारको प्रतिनिधित्व गराएका हुन्छन् । तदनुरुप वृहत छलफल गरी विधिप्रक्रिया बमोजिम सर्वसम्मत रुपमा या वहुमत अल्पमत मत विभाजन द्वारा पाँचवर्षका लागि विधान र नेतृत्व निर्वाचित हुन्छन् ।
यी निर्वाचित पदाधिकारिले राजनीतिक दलसम्बन्धी ऐनको दफा–२०मा निर्दिष्ट गरिएको प्रतिस्पर्धात्मक बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणसम्बन्धी कार्य गर्ने, मुलुकको सामाजिक, आर्थिक, सांस्कृतिक विकासका नीति योजना र कार्यक्रम जनसमक्ष ल्याउनु पर्ने र मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समृद्ध अर्थतन्त्र निर्माण गर्नुपर्ने लगायतका दायित्व कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ ।
जसअनुसार लोकतन्त्रलाई वैधता दिने र नागरिक अभिमत परिचालन गर्ने कार्यमा यिनै राजनीतिक दलहरु क्रियाशील हुन्छन् भने राजनीति चाहिँ विचार, दर्शन र सिद्धान्तका आधारमा प्रतिस्पर्धामा रहन्छ ।
राज्यका विभिन्न संरचना र तहहरुमा जनताको समान सहभागितालाई सहज पार्नु र लोकतान्त्रिक संस्थाहरुलाई जनताप्रति प्रत्यक्ष उत्तरदायी बनाउनु नै लोकतन्त्रको प्रमुख उद्देश्य हो ।
तर लोकतान्त्रिक प्रक्रियाको अभ्यासमा यी कुराहरु कसरी साँचो अर्थमा जनस्तरमा पुर्याउने भन्ने खोज अहिले पनि गर्नुपरिरहेको अवस्था छ । वास्तवमा लोकतन्त्रको सफलता भनेको समृद्धि, स्वाभिमान, समानता, शान्ति, सुरक्षा र स्वतन्त्रतामा देखिन्छ ।
यी कुराहरु प्राप्त गर्न दलका नेता पदाधिकारीहरुका व्यवहार लोकतान्त्रिक आदर्शअनुरुप क्रियाशील हुन सक्नु पर्दछ । अनि मात्र लोकतन्त्रलाई जनजीवनमा पु¥याउन सकिन्छ । विडम्वना नै भन्नु पर्दछ कि अहिले पनि नेता पदाधिकारीका आचरण व्यवहार त्यो अनुकुलका छैनन् ।
अब त्यस्तो अवस्था को अन्त्य हुुनु पर्दछ । पार्टी भनेको संगठन हो र जसलाई परिचालन गर्ने मानिस ले नै हो जसलाई नेतृत्व भनिन्छ । नेतृत्व गर्ने नेतृत्व टिम एक्काइसौ सताब्दी अनुकुलको गतिशील हुने आउनु पर्दछ । पानी जमेर बसेको तालजस्तो नभइ निरन्तर बगिरहने नदीजस्तो हुनु पर्दछ ।
संगठन मानिसको सामुहिक संलग्नताको स्वरुप हो, जसको उद्देश्य र त्यहाँसम्म पुग्ने प्रक्रिया पनि साझा हुन्छ । त्यसैले संगठनले साधन प्रविधि मानिस र वातावरणलाई समान आकांक्षामा परिचालन गर्न सक्नु गर्दछ ।
अब पिरामिड स्वरुपको सँगठन हुनु हुँदैन । जतिजति माथिल्लो पद उति थोरै संख्या तर अधिकार र शक्ति माथितिर बढ्दै जाने हुनु युगसापेक्ष हुुन सक्तैन । अब अहिलेको युगसुहाउँदो इल्टन मायोले सन् १९२४ देखि १९३२ सम्म अनुसन्धान गरी प्रचलनमा ल्याएको मानव सम्पर्क उपागमबाट सुरुआत भएको आधुनिक सिद्धान्तलाई अपनाउँदा राम्रो हुने देखिन्छ ।
यस सिद्धान्तले मानिसलाई यन्त्रको रुपमा होइन, मानिसकै रुपमा व्यवहार गरिनु पर्दछ भन्ने मान्यता राख्दछ । यसले “काम गर्ने भावना मानिसभित्र लुकेर बसेको हुन्छ, जसलाई बाहिर ल्याउन प्रेरणा चाहिन्छ भन्ने कुरामा जोड दिन्छ ।
यसका प्रमुख विशेषताहरु सकारात्मक वातावरण, मानिसमाथि जोड, उत्प्रेरणामा जोड, मानवीय सहयोग रहेका छन् । यस सिद्धान्तले काम, कार्य समुह, नेतृत्व र कार्य वातावरण बीचको आपसी सम्बन्ध र अन्तरक्रियाबाट नै संगठनले दक्षतापूर्वक काम गरी लक्ष्य प्राप्त गर्न सक्छ भन्ने मान्यता राखेको छ ।
यो सिद्धान्त निश्चित हदसम्म स्थिर, गतिशील र खुला प्रणाली, स्वचालित पृष्ठपोषण र नियन्त्रण प्रणाली, जैविक सामाजिक प्रणाली र वहुआयामिक प्रणालीको रुपमा रहेको पुष्टि भएको छ ।
तसर्थ, हामीले हाम्रा महाधिवेशनलाई पुरानो शैलीको संगठनलाई संशोधन गरी गतिशील बनाउने, परिमार्जित गर्ने अवसरको रुपमा लिन सक्नु पर्दछ । अन्यथा, अहिलेका सांगठनिक जीवन प्रणालीलाई नसच्याएमा लोकतन्त्रका उद्देश्य पूरा हुँदैन ।
लोकतन्त्रका उद्देष्य पूरा भएनन् भने जनतामा लोकतन्त्रप्रति वितृष्णा आउन थाल्छ । फलतः विद्रोह हुने सम्भावना भइ राजर्नतिक अस्थिरता निम्तिन्छ । राजनीतिक अस्थिरताभित्र विभिन्न देशीविदेशी शक्तिहरुले खेल्ने मौका पाउँछन् ।
यो विषयमा अफगानिस्तानको वर्तमान अवस्थाबाट पनि पाठ सिक्न सक्तछौ । जहाँ राजनीतिक नेतृत्व र राज्यप्रति बहुसंख्यक जनताको विश्वास थिएन र राज्यसंयन्त्रको कदमलाई जनताले साथ दिएनन् ।
फलतः राज्यशक्ति कमजोर साबित हुँदै अन्ततः राज्यसंयन्त्र फेल हुन पुग्यो र तालिवानले राज्यसत्ता हत्याउन सफल भयो । यस घटनाबाट हामीले शिक्षा लिनु पर्दछ । यो के भने राज्यशक्ति वास्तवमा शक्ति होइन, शक्ति त विचारमा हुन्छ ।
तलतल जनजनमा भिजेको र सामाजिक अन्तरघुलन भएको संगठनमा हुन्छ । जनताका हितमा ल्याइएका कार्यक्रममा हुन्छ । अनि त्यो जनशक्ति नै अजेय शक्ति हो । जसलाई केहिले पनि हराउन सक्तैनन् ।
आज अफगानिस्तानमा सो साबित भएको छ । दिगो शान्ति दिने भनेर बसेको अमेरिका समेत नसकेर आफनो देशमा फर्किनु पर्यो । यो कटु सत्यको हेक्का दलका नेता तथा भावी पदाधिकारीले राख्न सक्नु पर्दछ ।
हरेक दलहरुको बहुमूल्य सम्पत्ति भनेको नै फलामे अनुशासन हो । त्यो अनुशासनले कसैलाई शासनमा राख्ने भन्दा पनि बरु आफैलाई शासित गर्नै हो । यसको सौन्दर्यले समग्र संस्था उजिल्याउने काम गर्दछ ।