• मंसिर १२ २०८१, बुधबार

‘गोरे’ झ्यालखानामा, छान्दाछान्दै हराए ‘ठूला माछा’

आश्विन २२ २०७८, शुक्रबार

३३ किलो सुन र सनम हत्याकाण्ड प्रकरण छानबिनमा निकै चर्चाको विषय बनेको थियो ठूला माछा समात्ने खेल । गोरे लगायतका अभियुक्तहरु ‘साना माछा’मा दर्ज भएका थिए । ठूला माछा र साना माछाको सांकेतिक अभिव्यक्ति तात्कालीन अनुसन्धानको बेला सञ्चारमाध्यममा अग्रपृष्ठमा आउने गरेका पनि थिए ।

जिल्ला अदालतको फैसला :

अहिले जिल्ला अदालत मोरङले भखैरै मात्र उक्त मुद्दा किनारा लगाएको छ । सुन तस्करी, शररि बन्धक र सनम हत्याकाण्डका विभिन्न शीर्षकमा दर्ता भएको मुद्दाको सुनुवाई भैसकेको छ । जसमा ८ जनालाई दोषी ठहर गरे पनि सुन कहाँ गयो यो बारेमा अदालती फैसला मौन छ ।

उक्त प्रकरणमा पक्राउ परेका ७७ प्रतिवादीमध्ये जिल्ला अदालत मोरङले ८ जनालाई दोषी करार गरेको छ । अन्य ४८ जनाले सफाइ पाएका छन् । केहीलाई फरारको सूचीमा राखिएको छ भने फैसलाअनुसार ६ जनाले जन्मकैद भोग्ने भएका छन् । बाँकी दुई जनाले छोटो कैद भोग्ने र जरिवाना तिर्ने भएका छन् ।

प्रकरणको पृष्ठभूमि :

२०७४ साल माघ ९ गते त्रिभुवन बिमानस्थलमा ३३ किलो सुन भित्रिइसकेपछि त्यहाँबाट पठाइनु पर्ने स्थानमा नपुगेको भन्दै एकआपसमा हानमार हुँदा उक्त प्रकरण बाहिर आएको थियो । सुन तस्कर समूहको नाइके चुडामणि उप्रेतीले भरिया सनम शाक्यकलाई करेन्ट लगाउँदै निर्मम यातना दिँदा उनको मृत्यु भएपछि घटना सतहमा आएको थियो ।

प्रहरीको पनि खोजीको विषय बनिरहेको ३३ किलो सुन प्रकरण सनम शाक्यको हत्यापछि त चर्चाको शिखरमा पुग्यो । आरोपितहरुका बीचमा पोलापोलको अवस्था सिर्जना भएपछि तस्करीको सञ्जाल खुल्दै गयो । जटिलता पनि निम्तदै गयो ।

लहरो तान्दा गर्जिएको पहरो :

यो प्रकरणमा सुरक्षाकर्मी प्रहरीको पनि लामो लहरो जोडिन आइपुग्यो । सुरक्षा निकाय नै यो सुन तस्करीको प्रक्रियासँग तानिन पुग्यो । यसले सिंगो देश र जनतालाई आश्चर्यचकित पनि बनायो । यो विषय सदनदेखि सडकसम्म तानिन र लम्बिन थाल्यो ।

सरकारमा आसिनमाथि पनि अनेकौं प्रश्नहरु तेर्सिए । संभवतः आरोपहरुबाट बहालवाला मन्त्रीहरु पनि अछुतो रहेनन् । प्रहरीका माथिल्ला ओहदाका पनि तानिए । तस्करीको खोज र अनुसन्धान भरियादेखि राज्यसत्ताका माथिल्लो तहका हुन थालेको आभाष भयो ।

साना र ठूला माछा :

तात्कालिन सरकारका गृहमन्त्रीले तल्ला तहका मानिसलाई ‘साना माछा’ र उपल्ला तहका मानिसलाई ‘ठूला माछा’ भनेर संज्ञा दिने गरेका थिए । तर मोरङ जिल्लाको अदालती फैसलामा ‘ठूला माछा’ सबै फुत्किएका छन् र ‘साना माछा’ पर्न आएका छन् ।

‘गोरे’लाई खोर :

फैसलाअनुसार चुडामणि उप्रेती ‘गोरे’सहितका ६ जनाले जन्मकैद भोग्ने भएका छन् ।

दोषीमाथि कारबाही हुनु न्याय प्राप्तिको कुरा हो । दोषी उम्कन नपाओस् र निर्दोषी कुनै पनि मानेमा अन्यायमा नपरोस् भन्ने कुरा नै कानुनको सिद्धान्त र सार दुवै हो । तर ठूला माछा फुत्कदा ‘ठूलालाई ऐन र सानालाई चैन’ हुँदै त आएको छैन भन्ने आशंका कायमै छ ।