• फाल्गुन २८ २०८२, बिहीबार

प्रधानन्यायाधीशका आफन्तलाई मन्त्री बनाउन ओलीले गरेका थिए अस्वीकार

आश्विन २२ २०७८, शुक्रबार

काठमाडौं । सत्ता गठबन्धनमा प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको मन्त्री पद मागप्रति भैरहेको चौतर्फी आलोचनाका बावजुत उनको आफन्तलाई मन्त्री बनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको चार दलीय गठबन्धनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबराका जेठान गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका हो ।

यसअघि तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा पनि जबराले मन्त्रीको भाग खोजेका थिए । ओली प्रधानमन्त्री हुँदा मन्त्रालय विस्तारका क्रममा जबराले आफ्ना नातेदारलाई मन्त्री बनाउन खोजेको विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशन तथा प्रशारण गरेका थिए ।

गत जेठ ७ गते राति २ बजे प्रतिनिधि सभा विघटन गरेका ओलीले जेठ २१ गते मन्त्रिपरिषद् पुनः विस्तार गरेका थिए । तत्कालीन जनता समाजवादी पार्टी (जसपा) हाल लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष र एमाले नेताहरू मन्त्री बनेका थिए ।

स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले त्यतिबेला आफ्ना भिनाजु केशवप्रसाद उप्रेतीलाई मन्त्री बनाउन प्रस्ताव गरेका थिए भने दुई जना राजदूत पनि मागेका थिए । यो जानकारी पाएपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र महासचिव ईश्वर पोखरेलले जबरालाई कुनै हालतमा मन्त्री पद दिन नहुने भन्दै ओलीलाई दबाब दिएका थिए । एमाले एक नेता भन्छन्, ‘उहाँहरू (नेम्वाङ र पोखरेल)ले दबाब दिएपछि त्यतिबेला नै अध्यक्ष कमरेडले आफूले मन्त्री पद प्रधानन्याधीशको भागमा पार्न नखोजेको स्पष्ट पारिसक्नु भएको छ ।’

विघटित संसद् अर्थात् संसद्बिनै ओलीले मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त रिटको प्रारम्भिक सुनुवाइ जेठ २५ गते न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा भएको थियो । खतिवडाको इजलासले कारण देखाउ आदेश जारी गर्यो । र, अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाउन आदेश दियो । त्यसपछि विपक्षीबाट लिखित जवाफ पेश भएपछि प्रधानन्यायाधीश जबराले असार ८ मा यो मुद्दाको पेशी जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा राखेका थिए । उक्त इजलासले मन्त्रिपरिषद् विस्तारलाई बदर गर्ने आदेश दियो ।

त्यसपछि ओली सत्ताबाट बाहिरिएपछि देउवा सत्तामा आएका छन् । उनले सत्तारोहण गरेको झन्डै तीन महिना पुग्नै लाग्दा आज मन्त्रिरिषद्लाई पूर्णता दिएका छन् । आजै बसेको संसद्को बैठकमा बोल्दै कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्र्कीले प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग खोजेको सत्य नभएको दाबी गरेका थिए । प्रधानन्यायाधीश जबराले पनि केही दिन पहिले मन्त्री नमागेको दाबी गरेका थिए । तर, उनका आफन्त मन्त्री बनेका छन् ।