काठमाडौं । चीनले गत शुक्रबारदेखि यसहप्ताको सोमबारसम्म डेढ सय वटा लडाकु विमानहरु ताइवानको हवाई रक्षा क्षेत्रमा पठाएको छ । ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चेतावनी दिएको समयमा यसरी चिनियाँ विमानहरु ताइवानको हवाई क्षेत्रमा अनुमति बेगर घुस्नुले ताइवान आफ्नो बनाई छाड्ने चिनियाँ दृढता बलियो भएको प्रस्ट हुन्छ ।
लगातार आफ्नो देशको हवाई रक्षा क्षेत्रमा सयौं लडाकु विमानहरु चीनले पठाएपछि ताइवानकी राष्ट्रपति साइ इंग–वेनले चीनको आक्रामक गतिविधिको निन्दा गर्दै ताइवानले चीनसँग सैन्य टकराव नचाहेको उल्लेख गरेकी छिन् । तर चीनले ताइवानमा आक्रमण गरेको खण्डमा भने ताइवानले आफ्नो क्षेत्र जोगाउन अपनाउनु पर्ने जति उपाय सबै अपनाउने उनको भनाइ छ । राष्ट्रपति साइले फरेन अफेयर्स पत्रिकासँग भनेकी छिन्, ‘यदी चीनले ताइवान कब्जा गरेमा त्यो घटनाले पुरै एसियाको शान्ति खल्बलिनेछ । यसले एसियाको शान्ति र लोकतन्त्रमा विनाशकारी परिणाम निम्त्याउनेछ ।’
१४९ पटक चिनियाँ लडाकु विमानहरु आफ्नो हवाई क्षेत्रमा घुसेपछि ताइवानका रक्षामन्त्रीले चिउ को–चेङले यो ४० वर्षयताकै खतरनाक घटना भएको बताएका छन् । ४० वर्षयता चीन ताइवानमाथि सबैभन्दा बढी आक्रामक भएको उनको भनाइ छ । हालै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले चीनको विमानहरु ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा घुस्नुलाई उत्तेजक र अस्थिर सैन्य गतिविधि भनेका थिए ।
‘हामी ताइवानको नजिकै भएको चीनको उत्तेजक सैन्य गतिविधिबाट धेरै चिन्तित छौं,‘अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले एक विज्ञप्तिमा भनेका थिए,‘हामी ताइवान बिरुद्धको चिनियाँ सैन्य, कूटनीतिक, र आर्थिक दबाब रोक्न आग्रह गर्दछौं ।’
प्राइसले चिनियाँ गतिविधिले क्षेत्रीय शान्ति र स्थायित्वमा धक्का लाग्ने पनि बताइरहँदा जापानले पनि ताइवान र चीनले विवादलाई कूटनीतिक रुपमा सुल्झाउनु पर्ने बताएको छ ।
ग्लोबल टाइम्स भन्छ : तेस्रो विश्व युद्धको खतरा
हाल ताइवान र चीनबीच टकराब चलिरहँदा चीनको मुखपत्रको रुपमा रहेको ग्लोबल टाइम्सले एक लेख प्रकाशित गरेको छ । ग्लोबल टाइम्सले ताइवानको विषयमा हस्तक्षेप भए कुनै पनि बेला तेस्रो विश्व युद्ध हुनसक्ने उल्लेख गरेको छ ।
चीनको मुखपत्रले यस्तो लेखेपछि यो प्रस्ट हुन्छ कि ताइवानको विषयमा अमेरिका अथवा कुनै राष्ट्रले हस्तक्षेप गरेमा त्यसको चीनले कडा प्रतिरोध गर्नेछ ।
पत्रिकामा अमेरिकाले ताइवानको विषयया हस्तक्षेप गर्न नहुने उल्लेख छ । ताइवानको विषयमा अमेरिका हाबी हुनु आगोसँग खेल्नु बराबर भएको जनाइएको छ ।
चीनले ताइवान आफ्नो भूमि भएको बताउँछ । अमेरिकाले ताइवानलाई हतियार बेच्न नहुने र ताइवान–चीनको समुद्री सीमामा जहाजहरु पठाउनु नहुने चीनको प्रस्ट धारणा छ तर चीनले हतियार बेच्ने र चिनियाँ जल क्षेत्रमा प्रवेश गर्ने उत्तेजक गतिविधि जारी राखेको आरोप लगाएको छ ।
चीन ताइवानलाई आफ्नो भूमि भएको बताउँछ र जहिल्यै भएता पनि ताइवान चीनमै विलय हुने त्यहाँका राष्ट्रपति सी चिनफिङले बताउँदै आएका छन् । चीनबाट अलग्गिन खोजे ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चीनको भनाइ छ ।
पछिल्लो समय चीनको आक्रामक गतिविधि ताइवानमा थप बढेको देखिएको छ । जसले चीनको ताइवान कब्जा गर्ने दृढता थप मजबुत हुँदै गएको देखाउँछ । तर ताइवानले चीनको नीति त्यहाँ नचल्ने र आफू एक सार्वभौम मूलुक भएको बताउने गर्दछ ।
चीनको खतरासँग जुध्नको लागि भन्दै ताइवानले अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको छ जसले चीनलाई चिढ्याएको छ । चीनले गत वर्षदेखि ताइवानमाथि आफ्नो आक्रामकता बढाएको छ । पछिल्लो समय चीनले दोहोर्याउँदै चिनियाँ युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेका छन् ।
गतवर्ष ताइवान अलगाववादीहरुको खतरा बढेको भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले युद्धको लागि हरेक समय तयार रहन जनमुक्ति सेनाहरुलाई निर्देशन दिएका थिए । ताइवानले चीनको नीति नमान्ने बताइरहँदा चिनियाँ सेनाले टापु कब्जा गर्ने युद्ध कलाको अभ्यास गर्नु साथै लडाकु विमान उसको हवाई क्षेत्रमा पठाउनुलाई ताइवान नियन्त्रणमा लिने योजनाको रुपमा हेरिएको छ ।
ताइवान चीनकै हिस्सा थियो तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध (माओले चलाएको जनयुद्ध) सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ तर पछिल्ला वर्षहरुमा चीनले ताइवान आफ्नो भएको बताउँदै आएको छ । बेइजिङले लामो समयदेखि ताइवानको अन्तराष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ ।
बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ । पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ । तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन ।
त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ । त्यसकारण हालका वर्षहरूमा सो क्षेत्रमा तनाव बढिरहेको छ । ताइवानले पनि चीनको सम्भावित आक्रमणविरुद्ध युद्ध अभ्यास गरिरहेको छ । एजेन्सीको सहयोगमा ।