नेकपा (एस)का नेता मेटमणि चौधरीले आफू मन्त्री बन्न ‘कम्बिनेसन’ मिल्नुपर्ने बताएका छन् । सो पार्टीको तर्फबाट सुरुदेखि नै मन्त्री बन्ने चर्चामा रहेका चौधरी बिहीबार पार्टीले मन्त्रीका लागि गरेको सिफारिसमा परेका छैनन् ।
समाजवादी पार्टी गठनदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गरेका चौधरीले अन्तिममा मन्त्री बन्ने अवसरबाट बञ्चित भएका छन् । चौधरीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू मन्त्रीका लागि सिफारिस नहुनुमा कम्बिनेसन नमिलेको बताए । उनले मन्त्री को बन्यो बनेन भन्ने कुरा मुख्य नभएको भन्दै प्रणाली जोगिनु महत्वपूर्ण भएको बताएका छन् ।
‘मन्त्री बन्ने को मन्त्री बन्नुभयो ? को मन्त्री हुनु भएन १ मुख्य बिषय होइन । मुख्य विषय प्रणाली जोगिएको छ । संवैधानिक सर्वोच्च कायम भएको छ र कानुनी राज्यको स्थापना भएको छ’, फेसबुकमा चौधरीले भनेका छन्, ‘जहाँसम्म मन्त्री बन्ने सम्भावनाको कुरो– प्रतिनिधिसभाको सदस्यले त्यो चासो राख्छ र राख्नु पनि पर्दछ तर दीर्घकालीन चेत राखेर राजनीतिको खुल्ला चौरमा प्रवेश गरेको राजनैतिक खेलाडीको लागि मन्त्री पद गौण बिषय बन्न जान्छ ।’
उनले कठिन मोडमा रहेको भन्दै यो घडीमा सबैमा धैर्यधारणको जरूरी रहेको पनि बताएका छन् । उनले मन्त्रीका लागि नेतृत्वलाई अनावश्यक दवाब नदिन पनि भनेका छन् । ‘पार्टीलाई अझ सशक्त र समृद्ध बनाउनु जरूरी छ । पार्टी साइजमा नआउँदै कुनै पनि प्रकारका गुनासा र मोलमोलाइको लागि स्पेश दिनु जरूरी देख्दैन । नेपालको लोकतन्त्रलाई संस्थागत गर्ने कुरामा योगदानको लागि पहल गरौं’, चौधरीको अपिल छ ।