काठमाडौं । ट्राफिक प्रहरीले चाडपर्वमा काठमाडौं बाहिर जाने यात्रुसंग तोकिएभन्दा बढी भाडा लिन खोज्ने नौ जनालाई पक्राउ गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा चाडबाडमा हुने ठगीलाई ध्यानमा राखेर ट्राफिक प्रहरीको सादा पोशाकमा खटाएको टोलीले उपत्यकाको विभिन्न क्षेत्रमा गरेको जाँच अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउपर्नेमा चितवनको भरतपुर घर भएका ३८ वर्षीय समीर श्रेष्ठ, धनकुटाका ३० वर्षीय किरण लिम्बू र सुनसरीका २८ वर्षका सविन राई रहेका छन् । त्यस्तै टिकट काउन्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ गर्ने काठमाडौँ बस्ने वर्ष ४६ का राज ठकुरी, दाङ घोराहीका २९ वर्षीय विशाल गुरुङ र कैलालीका रमेश कठायतलाई काठमाडौँको गोङ्गबुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बढी भाडा लिने, दोहोरो टिकट काट्ने समूहलाई नियन्त्रण गर्न, सहज र सुरक्षित यात्राको व्यवस्था गर्न ट्राफिक प्रहरीले विशेष निगरानी एव अनुगमन गर्न टोली परिचालन गरेको छ । सोही क्रममा उनीहरु पक्राउ परेका हुन् ।
ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुलाई परेका समस्या समाधान गर्दै आएको छ ।