• मंसिर ११ २०८१, मंगलवार

मानसिक समस्याको मनोविज्ञान

आश्विन २१ २०७८, बिहीबार

मानिस मन र शरीरको एक संयुक्त रुप हो । अर्को शब्दमा भन्ने हो भने मानिसको शरीर भनेको कम्प्युटररुपी हार्डवेयर हो भने मन सफ्टवेयर ।

त्यसैले मानिसले स्वस्थ तथा सक्रिय समाजिक जीवन जीउन शरीर मात्र होइन, मन पनि स्वस्थ र निरोगी राख्न आवश्यक हुन्छ । तर मानिसको शरीर जस्तै मानिसको मन पनि बिमार हुन्छ ।

मानिसको मन विभिन्न कारणले जस्तै : जैविक, मनोवैज्ञानिक तथा सामाजिक आदि कारणहरूले बिकारग्रस्त हुन सक्दछ । मनको यस्ता बिकारहरूलाई मनोरोग अर्थात् मानसिक रोगको संज्ञा दिइन्छ ।

तर मनका यस्ता बिकारहरुलाई मानसिक रोगभन्दा पनि मानसिक समस्या भन्नु उपयुक्त हुन्छ । मानसिक समस्याहरू बीसौं प्रकारका छन् । डिप्रेसन, चिन्तारोग तथा सिजोफ्रेनिया आदि मानसिक समस्याका प्रमुख उदाहरणहरू हुन् ।

कसरी पैदा हुन्छ मानसिक समस्या ?

मानिसको जीवनमा अनेकौं उतारचढाव  आउँछन्, बाधा अड्चन तथा कठिनाइहरू आउँछन्। सामान्यतया मानिसले यस्ता बाधाअडचन तथा कठिनाइहरूमा  सफलतापूर्वक समायोजन स्थापित गर्दछन् ।

तर कतिपय स्थिति र परिस्थितिमा यस्ता बाधा अड्चन तथा कठिनाइहरूद्वारा उत्पन्न तनाव, कुण्ठा एवम् निराशा अति प्रवल भई त्यसलाई समायोजन गर्न नसक्ने स्थिति आउँछ, तब मानिसको मानसिक स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्दछ र मानिसको व्यबहार असामान्य हुन पुग्दछ ।

यस्तो अवस्था देखा परेमा मानिसको मन बिमार भएको मान्नु पर्छ । अतः मानसिक समस्या भनेको कुनै पनि व्यक्तिले राम्ररी सोच्न नसक्ने, भावनालाई नियन्त्रण गर्न नसक्ने र व्यवहारमा असामान्य परिवर्तन  हुँदै जाने अवस्था हो ।

यस्तो अवस्थामा भएका मानिसहरू प्रायः अरूसित व्यवहार गर्न र जीवनमा आउने समस्याहरूको सामना गर्न नसक्ने हुन्छन् ।

मानसिक समस्याका लक्षण :

मानसिक समस्याका लक्षणहरु मानसिक रुपमा मात्र होइन, शारीरिक रुपमा पनि देखा पर्न सक्छन् । मानिसमा खिन्नता, उदासीपना, इच्छाहरू मरेर जान्छन् तथा नकारात्मक र निराशावादी विचार आउँछन् ।

यसले मानिसलाई मर्न मन लाग्ने, ध्यान केन्द्रित गर्न गाह्रो हुने, बिर्सने, जीउ भारी हुने, गल्ने वा दुख्ने आदि हुन्छ । टाउको भारी भएकाने महसुस हुने, चिडचिडाहट हुने, निद्रा गडबडी हुने र खानामा रुची कम हुदै जान्छ ।

भयका साथै यौन इच्छामा कमी आउने, सामान्य अप्ठ्यारालाई भयंकर ठान्ने, मुटु काप्ने, श्वास फेर्न गार्हो भएको अनुभव हुने, जीउ या हातखुट्टा काप्ने हुन जान्छ ।

केही सोच्न थालेपछि चिटचिट पसिना आउने, शरीरमा तनाव भएको महसुस हुने, एक्कासी पहिले भोगेको पीडा या यातनाको याद आउने र एकदम छट्पटी हुनुे हुन्छ ।

कुनै खास वस्तु या स्थानको कारणले मन आत्तिने, उन्माद बढ्ने तथा होश छोड्ने पनि हुन्छ ।

बढ्दै छ मानसिक समस्या

हिजोआज संसारभरिका लाखौं मानिस मनका समस्याबाट पिरोलिएका छन् र यस्ता समस्याहरुको समयमा पहिचान तथा उचित उपचार हुन नसक्दा यस्ता समस्याले उनका घरपरिवारलाई समेत असर पुराएका छन् ।

मिचिगन विश्वविद्यालयले हालसालै गरेको एक अध्ययनअनुसार हरेक चारजना अमेरिकनमध्ये एकजना व्यक्तिमा मानसिक समस्या भएको तथ्य सार्वजनिक गरेको छ । अमेरिकामा मात्र होइन, संसारभरि नै मानसिक समस्याबाट पीडित हुनेको संख्या निकै बढेको छ ।

पेट तथा हातखुट्टा आदिको दुःखाइबाट फिजिसियन कहाँ पुग्ने आधाभन्दा बढी रोगीहरू कुनै न कुनै मनको समस्याबाट पीडित भएको देखिन्छ ।

नेपालमा भने मानसिक समस्याको स्थितिका बारेमा एकिन तथ्यांक छैन । तर एक अध्ययनअनुसार कम्तिमा पनि ५ नेपालीमध्ये १ नेपाली कुनै न कुनै मानसिक समस्याको चपेटा परेको देखिन्छ ।

यसको आधारमा बालबालिका बाहेक कम्तिमा पनि ७० लाख नेपालीमा मानसिक समस्या भएको मान्न सकिन्छ । मुख्य रुपमा नेपाली डिप्रेसन, दुश्चिन्ता, फोबिया, बाइपोलर डिसअर्डर,  स्ट्रेस, मानसिक थकानबाट ग्रसित छन् ।

यसलगायत यौन समस्या,  लागूऔषध दुर्व्यसन तथा सिजोफ्रेनिया आदिजस्ता मानसिक समस्याबाट पीडित छन् ।

माओवादी सशस्त्र द्वन्द्व, विभिन्न किसिमका आन्दोलन, बाढीपहिरो तथा भूकम्पका कारण पोस्टट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) बाट पीडित हुनेहरूको संख्या पनि नेपालमा निकै धेरै छ ।

अनेक मानसिक समस्या :

शरीरका रोगहरु जस्तै मनका समस्या पनि अनेकौं प्रकारका हुन्छन् । धेरै मानिसलाई लाग्ने मानसिक समस्या हो, डिप्रेसन ।

बिना कारण मन आत्तिइरहने रोग, एन्जाइटी डिसअर्डर हो भने वास्तविकता ठम्याउन नसक्ने स्थिति जसलाई सिजोफ्रेनिया (आम भाषामा पागलपन) भनिन्छ, अनि भावनालाई नियन्त्रण गर्न नसकिने स्थिति जसलाई बाइपोलार डिसअर्डर भनिन्छ, यी समस्याहरू गम्भीर प्रकारका मानसिक समस्याहरू हुन् ‌।

यौन समस्या पनि मानिसको एक प्रमुख स्वास्थ्य समस्या हो । यौन समस्या शारीरिक जस्तो देखिए तापनि ९० प्रतिशत यौन समस्याहरू मनोवैज्ञानिक कारणहरूद्वारा पैदा हुन्छन् भने केवल १० प्रतिशत शारीरिक हुन्छन् ।

मानसिक समस्याको उपचार :

आधुनिक युगमा मानसिक समस्याहरु ज्यादै तीव्र गतिमा बढिरहेका छन् । तर यो वैज्ञानिक युगमा पनि मानसिक समस्यालाई हेर्ने दृष्ट्रिकोणमा कुनै न कुनै रुपमा अन्धविश्वास कायमै छन् ।

त्यसैले नेपाल जस्तो सबै कुरामा पिछडिएको राष्ट्रमा मानसिक समस्याको सम्बन्धमा पनि गलत धारणा रहनु कुनै अनौठो कुरो होइन । अहिले पनि अधिकांश नेपालीहरूले मानसिक समस्या भुतप्रेत  र पुनर्जन्मको पाप, टुनामुना तथा ग्रहहरूको कारणले पैदा भएको मान्दछन् ।

मानसिक समस्यालाई देवीदेवताको अभिशाप ठान्दछन् । त्यसैले नेपाली समाजमा मानसिक समस्याहरु लुकाउने–छुपाउने प्रवत्ति विद्यमान छ । अशिक्षित मानिसहरूको कुरा परै छोडौ“ ।

शिक्षित मानिसहरूले पनि यस्ता समस्याहरू भरसक छुपाउने–लुकाउने र रोगले निकै च्याप्यो भने उपचारका लागि धामीझा“कीहरूको शरण पुग्ने प्रचलन छ ।

यसबाट नै प्रष्ट छ नेपालमा मानसिक स्वास्थ्यको स्थिति कति दयनीय छ भन्ने कुरा ।

पुछारमा :

अतः मानिस शरीर र मनको संयुक्तरुप भएकाले स्वस्थ र खुसीयाली जीवन जीउन शारीरिक स्वास्थ्यको साथै मानसिक स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ ।

मानसिक समस्या जुनसुकै वर्ग, लिंग, उमेर तथा संस्कृतिका मानिसलाई हुने हु“दा यसप्रति सचेत हुनुपर्छ ।

यदि आफुमा वा आफ्नो परिवारका सदस्यमा बिनाकारण मन आत्तिने, घबराहट हुने, बढी चिन्ता लाग्ने, मन डराउने, मन उदास रहने समस्या छ भने यो मानसिक रोगको कारण हो ।

कुनै पनि कार्यमा रुचि नलाग्ने, मनमा नकारात्मक विचार आउने, मानसिक तनाव बढ्ने भैरहेको छ भने यो पनि मानसिक रोगकै कारण हुन गएको हो ।

एकदम थकाइ लाग्ने, थकाइ आरामपछि पनि कम नहुने, अन्य मानिस सँगकुरा गर्न धक तथा डर लाग्ने, निद्रा नलाग्ने, शरीरका विभिन्न भागहरू दुख्ने पनि मानसिक रोगको कारण हो ।

भर्खरै राखेका वस्तु तथा परिचित मानिसको नाम बिर्सिने, औषधि गर्दा पनि रोग निको नहुने आदि जस्ता कुनै लक्षणहरू देखिएका छन् भने लुकाउनेछुपाउने होइन र झारफुकतिर लाग्ने होइन ।

बरु तुरुन्त चिकित्सक तथा मनोचिकित्सकस“ग सम्पर्क गर्नुपर्छ । मानसिक समस्या देखिदैमा आत्तिनु  हुँदैन । समयमै उचित उपचार गरेको खण्डमा शरीरका रोगहरु निको हुन्छन् ।

ठीक त्यसरी नै उचित उपचार गरेको खण्डमा मानसिक समस्याहरू पनि ठीक हुन्छन् । बिलकुल ठीक हुन्छन् ।

(लेखक मनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।)