काठमाडौं । एमाले नेता भनुभक्त जोशी एमाले छाडी एकीकृत समाजवादीमा प्रवेश गरेपछि सुदुर पश्चिम अब एकीकृत समाजवादी पार्टीको बलियो अखडामा परिणत हुन गएको छ । प्रादेशिक कार्यकर्ताको अधिकांश हिस्सा एकीकृत समाजवादीमा आइसकेको अवस्थामा केन्द्रका केही नेताहरु ढलपल ढलपलको अवस्थामा थिए ।
एकीकृत समाजवादीले सुदूर पश्चिमको जिम्मेवारी बाँडफाँडमा पनि केही समय ‘पर्ख र हेर’ को नीति अख्तियार गरेको छ । नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गरेसँगै अब यो जिम्मेवारी बाँडपाँडको प्रक्रिया अघि बढ्न सक्छहोला । कतिपयले नेता भीम रावल नै एकीकृत समाजवादीमा फर्कन्छन् भने पनि उनले भने लामो समय देखिको मौनता तोडेका छैनन् ।
कार्यकर्ता विहीन बनेका भीम रावल सुदूर पश्चिममा बकुल्लाजस्तो एक्लै देखिएको एमाले कार्यकर्ताकै बीचमा मजाक चलिरहेको देखिन्छ । जोशी समाजवादीमा फर्कने बित्तिकै बिहीबार बसेको समाजवादीको स्थायी कमिटी बैठकमा जोशी स्थायी समिति सदस्यको हैसियतमा रहिसकेका छन् ।
सिंगो एमाले छँदा केन्द्रीय कमिटी सदस्य रहेका जोशी सुदूरपश्चिमका प्रभावशाली नेतामा गनिन्छन् । भीम रावलसँग निकट रहेर काम गर्दै आएका जोशीले एमाले परित्याग गरेपछि रावल अहिले स्थानीय क्षेत्रबाट नराम्ररी एक्लिन पुगेका छन् ।
विश्लेषकहरु भन्छन्, एमालेमा निरन्तर पहिरो जाने क्रम रोकिने देखिदैन । एमाले नेताहरुले २०५४ सालमा बामदेव गौतम फुट्दाको अवस्थालाई लिएर हाल २०७८ सालको माधव नेपालसँग तुलना गरिरहेका छन् भने त्यो वस्तुसँगत हुन सक्दैन ।
अहिले निम्न तथ्यहरुले वामदेवको पालामा भन्दा भिन्नै वस्तुगत वातावरण निर्माण गरिसकेका छन् । पहिलो कुरा त सिंगो देश संघीय संरचनामा गइसकेको छ । यसले प्रादेशिकता र स्थानीयतालाई बढावा दिंदै जाने देखिन्छ ।
संघीयताले स्वभाविक रुपमा प्रादेशिक तथा स्थानीय शक्ति कता छ भन्ने कुरालाई प्राथमितामा ल्याइदिन्छ । केन्द्रीय आँखाबाट हेर्ने भीम रावल र स्थानीय वा क्षेत्रीय आँखाबाट हेर्ने स्थानीय नेता तथा कार्यकर्ताका बीचमा सुदूर पश्चिममा देखिएको पहिलो भिन्नता वा अन्तरविरोध यही नै हो ।
भीम रावल यही कारणले ‘एक्ला वृहस्पति झुट्टा’ हुन गए हुन् । अबका केही वर्षमा मानिसले स्थानीयता र प्रादेशिक हित बढी ध्यान दिन थाल्ने देखिन्छ, संघीय वा केन्द्रमा होइन । अबका दिनमा त्यहाँ एमालेमा रहेका स्थानीय कार्यकर्ता पनि एकीकृत समाजवादीमा आउने प्रवलतालाई अस्वीकार गर्न सकिदैन ।
अर्को कुरा, माहुरी बस्न रुचाउने पुरानो घारलाई ‘मैने घार’ भनिन्छ, तर यसको उल्टो पुराना राजनीतिक पार्टी अब मानिस बस्न नरुचाउने ‘परित्यक्त घर’मा परिणत हुँदै गैरहेका छन् । मानिसले नयाँ नयाँ विकल्प र बाटाहरु खोजिरहेका छन् । त्यसैले पनि एमालेभन्दा एकीकृत समाजवादी जनताका माझमा प्रिय बन्दै जान सक्छ ।
पुराना नेताहरु नमर्दासम्म कुर्सी र जिम्मेवारीमा टाँसिइरहने प्रवृत्तिका कारण पनि जनताले नयाँ नयाँपन चाहिरहेका छन् । यस अर्थमा पनि पुरानो पार्टी एमालेको विकल्प बन्न सक्छ, एकीकृत समाजवादी ।
अर्को महत्वपूर्ण पक्ष भनेको राजनीतिक पार्टीहरु विचारले निर्देशित र परिचालित हुन्छन् । संसदीय कम्युनिष्ट पार्टीहरुमा विचार भुत्ते र जीर्ण हुँदै गएको छ । एमालेमा भन्दा एकीकृत समाजवादीमा सापेक्षतामा विचारको कुरा उठाइएकाले पनि उक्त पार्टीमा आकर्षण बढ्दै जाने संभावनालाई नकार्न सकिदैन ।
अब पनि कम्युनिष्ट पार्टी नामधारीहरुले कुरा क्रान्तिका र व्यवहार संसदीयजस्ता विसंगतिपूर्ण कामकार्य गर्न छाडेनन् भने तिनका कार्यकर्ता र जनता बरु यथास्थितिमा रहेको नेपाली कांग्रेसमा प्रजातन्त्रको नाममा पस्न र बस्न कुुनै आइतवार पर्खनु पर्ने देखिदैन ।