• मंसिर ११ २०८१, मंगलवार

हनुमानढोकाको दसैँ घरमा राखियाे जमरा

आश्विन २१ २०७८, बिहीबार

काठमाडौँ। परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा जमरा राखिएको छ । विधिपूर्वक रुपमा पूजापाठ गरि बिहीबार मध्यन्ह जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधनासमेत गरिएको छ ।

बिहान ११ बजेर ४६ मिनेटमा दसैं घरमा जमरा राखिएको हो । जमरा राख्नेक्रममा नेपाली सेनाले मंगल धुन बजाएको थियो र अवसरमा बन्दुक पड्काएर बढ्याइँ गर्ने प्रचलन रहँदै आएको छ ।

बिहीबार बिहान चित्रा नक्षत्र र वैधृति योगको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए ।

दसैँ घरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । कोरोना जोखिम कायमै रहे पनि यस वर्ष महानवमीका दिन हनुमानढोकाको कोतमा दिइने ५४ बोका र ५४ राँगासहितको बलि दिइने भएको छ ।

कोरोना महामारीका कारण गत वर्ष बलि स्थगित गरिएको थियो । यस वर्ष स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर बलिसहित पूजा आराधना गरिनेछ ।