काठमाडौं । पश्चिम नवलपरासीको सुस्तावासीहरुले भारतसितको सीमानामा जंगे पिलर राख्न माग गरेका छन् । यसका लागि उनीहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएका छन ।
वर्षौंदेखि विभिन्न समस्या झेल्दै आएका सुस्तावासीले बुधबार विभिन्न ९ बुँदे माग राख्दै मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र बुझाएका हुन् । संविधानसभा सदस्य देवकरण कलवारको नेतृत्वमा सुस्ता बचाउ अभियानका पदाधिकारी तथा सदस्यहरुले मुख्यमन्त्री केसीलाई भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरे ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्ता गाउँका बासिन्दाहरु २०२२ सालदेखि सुस्ताभूमिको संरक्षण र भारतीय पक्षको ज्यादती विरुद्ध लड्दै आएका छन् । भारतीय पक्षले १४ हजार ५०० हेक्टर क्षेत्रफल अतिक्रमण गरिसकेको छ भने १९ हजार ४८० हेक्टर क्षेत्रफललाई विवादित छ ।
कुल ४० हजार ९८० हेक्टर क्षेत्रफलमध्ये जम्मा ७ हजार हेक्टर क्षेत्रफल मात्र सुस्तावासीहरुसँग छ । सीमाको रेखाङ्कन र सीमामा जंगे पिलर नराखिएका कारण यो समस्या आएको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खान बताउँछन् । उनी भन्छन्, ‘हामी सुस्तावासीहरुले भूमी मात्र गुमाएका छैनौ, भारतीय यातना समेत खेप्दै आएका छौं ।’