• मंसिर ११ २०८१, मंगलवार

धार्मिक अन्धविश्वास हटाए संस्कृति सफा हुन्छ

आश्विन २० २०७८, बुधबार

संस्कृति मानव समाजको अविभाज्य अंग हो । संस्कृतिबिना मानिस, मानिस नै रहँदैन । तर धर्मबिना मानिस, मानिस हुन र रहन सक्छ ।

यो चाडपर्वहरुको बहस चल्ने समय हो । त्यसकारण संस्कृतिको बारेमा केही बोल्नु पर्ने सन्दर्भ छ । म दशैँ वा कुनै पनि समुदायले मान्दै आएका चाडहरुको विपक्षमा छैन ।

बरु धार्मिक रुढिवादी र अन्धतामा आधारित सबै चाडको विपक्षमा छु । यस्ता रुढीवादको आधारमा बनाइएका चाडहरुलाई परिमार्जन गरिनु पर्दछ । त्यस्ता रुढीवादमा आधारित चाडहरुलाई जनताबाट अलग गर्नुपर्छ ।

तर सांस्कृतिकरुपमा मनाइने पर्वहरु भने फरक हुन् । तिनलाई संरक्षण गर्नुपर्दछ । तर धार्मिक अन्धता र रुढीवादमा आधारित चाडलाई भने अबको पुस्तालाई कसरी सिकाउन सकिन्छ र ?

दुर्गामाता आएर हाम्रो लागि राम्रो गर्दिन्छिन् भने अब सिकाउन सकिन्छ ? सकिन्न । हातमा कम्प्युटर नलिइकन जसको प्रगति नै छैन, सहज तरिकाले जीवन बाँच्न नसकेर अरबमा गएर, इस्लाम देशहरुमा गएर जो काम गर्न बाध्य छ भने त्यसलाई अब हामी दुर्गामाताले हाम्रो हित गर्छिन् भनेर सिकाउन सक्छौं त ? सक्दैनौं ।

यसो भन्दा मैले कुनै खास धर्मको मात्रै कुरा गरेको होइन । मैले गरेको संस्कृतिको कुरा हो । किनकि संस्कृतिबिना मानिस नै हुँदैन र संस्कृति मानिसको अभिन्न अंग हो । तर धर्मबिना चाहिँ मानिस रहन सक्छ । यहाँ हिन्दू धर्मको बढी कुरा गरिन्छ ।

तर एउटा धर्मको मात्रै कुरा गर्नु हुँदैन । बरु सबै धर्मभित्रका खराबीहरुको कुरा गर्नुपर्छ । संसारमा अहिले भएका सबै धर्म नभएपनि मानिस रहन्छ र यसको जीवन चल्छ र विकास पनि हुन्छ ।

यसो हुँदा आजको समाजमा रहेका धर्महरु कति वर्ष पुराना हुन् त भनेर बुझ्न पनि आवश्यक पर्दछ । चार हजार वर्षभन्दा अघि आजका हिन्दूहरु हिन्दू थिएनन् । दुई हजार वर्ष अगाडि आजका इसाईहरु इसाई थिएनन् ।

पन्ध्र सय वर्षअघि इस्लामहरु इस्लाम थिएनन् भने २६ सय वर्षअघि बौद्धहरु बौद्ध थिएनन् । उनीहरु सबै त्यतिबेला अर्कै थिए । त्यसकारण आजका जति पनि धर्महरु देखिएका छन् । ती सबै निश्चित समयमा विकास भएका हुन् ।

तर संस्कृति चाहिँ मानिसले बनाएको हो । मानिसले बनाएका सबै चीजहरु संस्कृति हुन् । किनकि मानिसले केही न केही त सिर्जना गरिहाल्छ । यसरी सिर्जना गरेपछि त्यो चीज संस्कृति बन्दछ ।

त्यसकारण संस्कृति मानिसको अनिवार्य अंग हो तर धर्म मानिसका लागि जरुरी चीज होइन । यसैगरि दशैँ वा उभौली पर्वका सन्दर्भमा वा क्रिस्मसका सन्दर्भमा नै किन नहोस्, मैले चारवटा कुरा भन्दै आएको छु :

१) धार्मिक अन्धता र रुढीमा आधारित पर्वहरु मनाउन छोड्नु पर्छ ।

२) पर्वहरुमा रहेका धार्मिक पक्षलाई जनताबाट अलग्याउनु पर्दछ । तर खानपिन गर्न सकिन्छ, पिङ खेल्न सकिन्छ, चंगा उडाउन सकिन्छ, यो संस्कृत हो, तर धार्मिक रुढी भने छोड्नु पर्छ ।

३) चाडपर्वहरु सकेसम्म किफायत बनाउनुपर्छ । किनकि मानिसलाई बजारले लुटिरहेको छ । पोहरसाल भन्दा यसपटक कम खर्च गर्दै जानु पर्दछ ।

४) हाम्रै दिन र युगमा जन्मिएका महान दिनहरुलाई सांस्कृतिक पर्वको रुप दिन थालौं ।

हामीले हामीलाई थाहै नभएको दुर्गाचण्डी, थाहै नभएको मोहम्मद, थाहै नभएको इसामसिहको बारेमा चाहिँ चाड बनाएर मनाउने तर हजारौं मानिसको बलिदान गरेर ल्याएका ती परिवर्तनका दिनहरुलाई हामीले सांस्कृतिक रुप किन नदिने ?

सहिद दिवसहरुलाई हामीले सांस्कृतिक दिवसको रुपमा किन नमनाउने ? खानपिन गर्ने, नातागोता बोलाउने, परिवारसित बस्ने, यस्तो रुप किन नदिने ? दिनु पर्दछ ।

हाम्रै परिवार र हाम्रै आफन्तले बलिदान गरे, ती दिनहरुलाई संस्कतिको मान्यता किन नदिने ? दिनु पर्दछ । ती दिनहरुलाई हामी किन सम्झिन नसक्ने ?

पुरानो संस्कृतिको विकल्प पनि छ । त्यसकारण कुनै पनि खास धर्मको विरोधको कुरा होइन, बरु सम्पूर्ण धार्मिक रुढिहरुको परिवर्तनको बहस हो । त्यसकारण दशैँलाई धार्मिकरुपमा होइन, मनाउने नै हो भने सांस्कृतिक रुपमा मनाउनुस् ।

त्यति पनि सकिन्न भने किफायती तरिकाले मनाउन्स् । बरु सबै मिलेर हाम्रो राष्ट्रिय संस्कृति बनाउने बारेमा बहस गरौं । दशैँ वा अरु पर्व राष्ट्रिय पर्व हुन सक्दैन । किनकि राष्ट्रिय पर्व हुनका लागि त्यो पर्व सबैको हुनसक्नु पर्छ ।

तर नेपालमा त्यस्तो अवस्था छैन । दशैँ सबैको पर्व होइन । दशैँमा बिदा दिने कुरा पनि दमन गर्नका लागि हो । किनकि रम्जान एक महिना मनाइन्छ । के त्यसका लागि एक महिना विदा दिन्छन् त मुस्लिमलाई ? दिने गरिएको छैन ।

नेपालमा जनैपूर्णिमा पनि बिदा दिन्छन् । जनैपूर्णिमा बिदा नै दिनु पर्ने के सन्दर्भ जोडएको छ र ? त्यसमा वैज्ञानिक पक्ष छैन । जनै लाउनेले घरमै बसेर लगाइहाल्छ । नलाउनेले लाउँदैन ।

फेरि नेपालमा जनै लाउनेभन्दा नलाउने मानिस धेरै छन् । अनि विदा दिनै पर्दछ त ? पर्दैन । फेरि जनै महिलालाई लाउन नदिने र उत्पीडन गर्ने चीज हो जनै । दलित र जनजातिलाई पनि लाउन नदिने र उत्पीडन गर्ने चीज हो जनै ।

त्यसकारण जनै पूर्णिमामा सबैलाई बिदा नै दिनुपर्ने कारण केही पनि छैन । त्यस्तै घटस्थापनाको दिन किन बिदा चाहिएको हो मानिसलाई ? त्यो दिन कोही नातेदार पनि बोलाउने चलन पनि छैन ।

भोज खाने चलन पनि छैन । बरु यो त हिन्दू शाषकहरुले गैह्रहिन्दूमाथि गरेको बलजफ्ती हो । त्यस कारणले नै यस्ता कुराको आलोचना गर्दै आइएको हो । फेरि सबै हिन्दू जनताले यस्तो गरेको भने होइन ।

बरु हिन्दू समाजबाट जन्मिएका शासकहरुले यस्तो बनाएका हुन् । त्यत्रो विशाल जनसंख्या भएको देश भारतमा हिन्दू शासकहरुले शासन गरिरहेका छन् । त्यसकारण त्यसको असर नेपालमा पनि पर्नु स्वभाविकै हो ।

यसैकारण केही मानिसहरु हिन्दू राज्य चाहियो भनेर उफ्रिन्छन् । जुन कुरा असम्भव छ । त्यसकारण नेपाल धर्मनिरपेक्ष नै ठिक छ । जहाँ धार्मिक स्वतन्त्रता हुन्छ । धर्म मान्न पनि पाउँछ र नमान्न पनि पाउँछ ।

धर्म निरपेक्षतावादीहरु कुनैपनि धर्मको आडमा शासन गर्न खोज्नेका विरुद्ध दृढतापूर्वक लड्नु पर्ने हुन्छ । यसका लागि जस्तोसुकै आन्दोलन गर्न परेपनि हामी र सबै जनता तयार रहनु पर्छ ।

(प्राइम टिभीले लिएको अन्तरवार्ताको आधारमा तयार पारिएको ।)