जनकपुरधाम। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वको सरकारलाई बदनाम गर्न अनेक चलखेल भइरहेको टिप्पणी गरेका छन् । बुधबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दैै उनले प्रदेश २ सरकारलाई विभिन्न ढंगले हमला गर्ने प्रयास भइरहेको बताएका हुन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि मुख्यमन्त्री कार्यालयमा छापा मार्नु सरकारलाई बदनाम गर्ने प्रयास भएको बताए।
उनले आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षभन्दा बढी समय भइसकेको भन्दै यसबीचमा धेरै चुनौती पार गर्दै यहाँसम्म आइपुगेको बताए ।
आफू सुशासन र पारदर्शिताको पक्षपाती रहेको भन्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई बदनाम गर्न अनेक षड्यन्त्र भइरहेको बताए । ‘यो त संस्थामाथिको हमला हो,’ उनले भने, ‘प्रदेश सरकारलाई बदनाम गर्न अनेक प्रकारका षड्यन्त्र भइरहेको छ ।’
उनले मुख्यमन्त्री कार्यालयबाट साइकल वितरणमा अनियमितता भएको भन्ने हल्लामा सत्यता नरहेको पनि बताए । उनले भने, ‘त्यो बजेटको व्यवस्थापन कसले गरेको ? तपाईहरु (सांसदहरु) ले बजेट पास गरेको होइन र ? मुख्यमन्त्रीले बजेट कार्यान्वयन गर्ने होइन नि, मुख्यमन्त्रीले बजेट खर्च गर्ने होइन ।’
उनले प्रदेशसभा सदस्यहरु नै आफ्नो लागि न्यायाधीश हुने बताए । संघीयतालाई कमजोर बनाउने र समाप्त पार्ने सुरु देखिको खेल अन्तर्गत प्रदेश २ लाई नै बारम्बार निशाना बनाउँदै आएको उनको भनाइ थियो । आफ्नो नेतृत्वको सरकारले संघीयतालाई संस्थागत गर्न सुरुदेखि नै दह्रो खुट्टा टेक्ने प्रयास गरेको उनले बताए ।
सात प्रदेशमध्ये कुनै पनि प्रदेशले आँट नगर्दा प्रदेश २ सरकारले प्रदेश प्रहरी ऐन ल्याएको उनले बताए । प्रदेश निजामती सेवा ऐन लगायत संघीयता अन्तर्गतका ऐन कानुन निर्माणमा सरकारले उल्लेखनीय काम गरेको उनले प्रस्ट पारे ।