• मंसिर १२ २०८१, बुधबार

इञ्जिनियरिङ्ग पढ्ने विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

आश्विन २० २०७८, बुधबार

काठमाडौँ। देशका विभिन्न स्थानबाट राजधानीमा इञ्जिनियरिङ्ग पढ्न आएका विद्यार्थीहरुलाई एक कार्यक्रम गरी स्वागत गरिएको छ। टोखा नगरपालिका धापासी स्थित तिलिङ्गटार माध्यमिक विद्यालयमा ३ वर्षे डिप्लोमा इन सिभिल इञ्जिनियरिङ्गमा भर्ना हुन आएका विद्यार्थीहरुलाई एक कार्यक्रम गरी स्वागत गरिएको हो।

विद्यालयले आयोजना गरेको स्वागत तथा अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष भीम भारतीले देश बनाउने र विकाश गर्ने मूल जिम्मा प्राविधिकहरुको हातमा रहेको हुनाले प्राविधिक शिक्षाका विद्यार्थीहरुले देशप्रतिको आफ्नो दायित्व सम्झेर आफ्नो शिक्षण सिकाइ कार्य सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानअध्यापक सरोज कुमार पाण्डेले आफ्नो सफलतासंगै विद्यालयको समेत गौरव बढाउने गरेर पढाइमा लाग्न नव आगन्तुक प्राविधिक धारका विद्यार्थी अभिमुखीकरण गरे। कार्यक्रममा विद्यालयका सहायक प्रधानअध्यापक केदारराज रेग्मीले विद्यालयको लक्ष्य,उद्देश्य लगायत विद्यालयको बारेमा नवप्रवेशी विद्यार्थीहरुलाई प्रकाश पारे।

त्यस्तै स्वागत तथा अभिमुखीकरण कार्यक्रममा अर्का सहायक प्रधानअध्यापक धुर्व अर्यालले विद्यालयमा रहँदा विद्यार्थीहरुले पालना गर्नुपर्ने अनुशासन लगायत विद्यालयका आचारसंहिताबारे जानकारी गराए। कार्यक्रममा डिप्लोमा इन सिभिल इञ्जिनियरिङ्ग ३ वर्षे कोर्ष पढाउने विभिन्न विषयगत शिक्षकहरुको उपस्थिति रहेको थियो।

स्वागत तथा अभिमुखीकरण कार्यक्रमको सभापति प्रधान अध्यापक सरोज कुमार पाण्डे रहेका थिए भने कार्यक्रमको सहजीकरण विद्यालयका डिप्लोमा इन सिभिल इञ्जिनियरिङ्ग ३ वर्षे कोर्षका प्रमुख बिपिन ढकालले गरेका थिए।

देशका सबै भू-भाग र प्राय सबै जिलाहरुबाट सो विद्यालयमा डिप्लोमा इन सिभिल इञ्जिनियरिङ्ग (३ वर्षे कोर्ष) पढ्न विद्यार्थीहरु आएर भर्ना भएको जानकारी विभागीय प्रमुख ढकालले गराए। सो कोर्ष पढ्न पश्चिम रुकुमबाट त्यहाँ आएकी बिना कुसारीले सो विद्यालयमा भर्ना भएर पढ्न पाउदा आफूलाई खुशी लागेको धारणा व्यक्त गरिन् ।

त्यस्तै सोलुखुम्बुबाट सो विद्यालयमा भर्ना हुन आएका जनक कुलुङले आफ्नो भविष्य र लक्ष्य पुरा गर्न सो विद्यालय सहायक सिद्ध हुने विश्वास व्यक्त गरे। त्यस्तै सुदुर पश्चिमबाट सो विद्यालयमा भर्ना भएका देवराज रावलले प्राविधिक बनेर देशको सेवा गर्ने आफ्नो लक्ष्य पुरा गर्न सो विद्यालयमा भर्ना भएको विचार व्यक्त गरे।