• मंसिर १२ २०८१, बुधबार

काँग्रेस कार्यकर्ताबीच भएको झडपमा प्रहरी घाइते

आश्विन २० २०७८, बुधबार

बाजुरा । काँग्रेसको १४औँ महाअधिवेशन अन्तर्गत बाजुरामा आज भएको अधिवेशनका क्रममा झडप भएको छ । जिल्ला निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक मदनजित महराले उक्त घटनामा एक जना प्रहरी घाइते भएको बताए । घाइते प्रहरीको अवस्था समान्य छ । वीरेन्द्र गिरीसहितका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आजै राति ११ बजेबाट मतगणना गर्ने तयारी गरिएकोमा झडपपछि मतगणनाको काम अनिश्चित बनेको प्रवक्ता रौलेले जानकारी दिए ।

काँग्रेसको जिल्ला अधिवेशनमा सभापति पदका लागि कविराज पण्डित, रामसिंह रावल र चक्र शाहीबीच प्रतिस्पर्धा भइरहेको छ । जिल्ला अधिवेशनमा कांग्रेसका एक हजार २१२ मतदाता रहेको बताइएको छ ।