• फाल्गुन २८ २०८२, बिहीबार

शक्तिका आधारमा मन्त्रालय र मन्त्रीहरूको भागबण्डा

आश्विन १९ २०७८, मंगलवार

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अब पूर्णता पाउने भएको छ ।

लामो समयदेखि जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले मन्त्रालय र मन्त्रीहरूको बाँडफाँड शक्तिका आधारमा नभै समानताको आधारमा गर्ने अडान राखेका थिए । तथापि उक्त अडानबाट जसपा र नेकपा (एस) पछि नहटेपछि लामो समयदेखि सरकारले पूर्णता पाउन सकेको थिएन ।
काँग्रेस नेता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको संयोजनमा आइतबार दुई गठबन्धन दलहरूबीच दुई पटक बैठक बसेको थियो । उक्त बैठकमा यी दुई दलले पुरानै अडान दोहोर्याएपछि निष्कर्षमा पुग्न नसकी बैठक स्थगित भएको थियो । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले काँग्रेस र माओवादी केन्द्रले शक्तिका आधारमा मन्त्रालय र मन्त्रीहरूको भागबण्डा गर्नुपर्ने अडान राखेको थिए । तथापि जसपा र नेकपा (एस)ले समानताका आधारमा गर्नुपर्ने अडान राखेको हो । तर, आज (मंगलबार) शीर्ष नेताहरूको छलफल र निर्णय पश्चात शक्तिका आधारमा नै सरकारलाई पूर्णता दिने भन्ने विषयमा सहमति भएपछि हामीले पनि आफ्नो अडान त्यागेका छौँ ।’

काँग्रेस र माओवादी केन्द्रले यसअघि नै केही मन्त्रालय भागबण्डा गरिसकेका छन् भने जसपा र नेकपा (एस)को भागमा परेका मन्त्रालय बाहेक अन्य मन्त्रालय उनीहरूले नै सम्हाल्ने छन् । तथापि तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरे पश्चात् पुनःस्थापनाका लागि महत्वपूर्ण योगदान गरेको भन्दै जसपा र नेकपा (एस)लाई पहिले नै चित्त बुझाएपछि आफूहरूले बाँकी मन्त्रालयको जिम्मेवारी सम्हाल्ने काँग्रेस र माओवादी केन्द्रले बताएको छ ।

जसपाको भागमा परेका मन्त्रालय
प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा सत्ता साझेदार दल जसपाले चार मन्त्रालय पाउने भएको छ । आज (मंगलबार) बसेको संयुक्त गठबन्धनको बैठकमा जसपाले चार मन्त्रालय पाउने भएको हो । बैठकमा प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार जसपाले गठबन्धन सरकारमा चार मन्त्रालय पाउने भएको छ । उसले राज्यमन्त्रीसहित मन्त्रीको संख्या भने चारभन्दा बढी पाउन सक्ने सम्भावना रहेको स्रोत बताउँछ । आज भएको सहमतिअनुसार उसले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि मन्त्रालय र वन मन्त्रालय पाउने भएको छ ।
नेकपा (एस)को भागमा परेका मन्त्रालय
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकको निर्णयअनुसार नेकपा (एकीकृत समाजवादी)को भागमा पाँच मन्त्रालय र एक राज्यमन्त्री परेको छ । एकीकृत समाजवादीका सचिव एवम् सांसद रामकुमारी झाँक्रीले आफूहरूले पाँच मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमति भएको जानकारी दिइन् ।

झाँक्रीका अनुसार एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास, युवा तथा खेलकुद, संस्कृति पर्यटन तथा नागरिक उडड्यन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ । समाजवादीबाट एकजना भने राज्यमन्त्री हुनेछन् । एकीकृत समाजवादीको तर्फबाट विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी र प्रेम आलेमगर मन्त्री बन्ने स्रोतले बतायो ।