• मंसिर १२ २०८१, बुधबार

जोर्डनका राजाले अमेरिका र बेलायतमा झन्डै १२ अर्बको घरजग्गा गोप्य रूपमा किनेको खुलासा

आश्विन १९ २०७८, मंगलवार

एजेन्सीहरु । जोर्डनका राजा अब्दुल्लाहबिन अल हुसेनले आफ्नो देशको पैसा लिएर बिदेश बेलायत र अमेरिकामा गोप्य रुपमा घरजग्गा जोडेको खुलासा भएको छ । विभिन्न उच्च पदस्थहरुको गोप्य रुपमा राखिएको अवैधानिक रकमहरुको खोजविन गर्दै आएको ‘पाण्डोरा पेपर्स’ ले राजाको बिदेशमा रहेको अवैधानिक लगानीलाई खुलासा गराएको हो ।

पाण्डोरा पेपर्सका अनुसार सो देशका राजाले गोप्य रुपमा १० करोड अमेरिकी डलर अथवा झण्डै १२ अर्व (११ अर्व ८४ करोड) नेपाली रुपैयाँ लगानी गरेर बेलायत र अमेरिकामा घरजग्गा जोडेका छन् । राजाले सन् १९९९ मा देशको शासनसत्ता सम्हालेदेखि १५ वटा घर खरिद गर्न प्रयोग गरेका गोप्य संस्थाहरूबारे चुहिएका दस्ताबेजले यस्तो खुलासा गरेका हुन् । तर राजा अब्दुल्लाहका वकिलहरुले उनको व्यक्तिगत सम्पत्ति प्रयोग गरी त्यस्ता कुरामा लगानी गरिएको भन्दै अफशोर कम्पनीहरू प्रयोग गरी त्यसो गरिनु अनुपयुक्त नरहेको धारणा व्यक्त गरेका छन्

जोर्डनले प्रयाप्त मात्रामा बेलायत र अमेरिका सहितका देशहरुबाट अन्तर्राष्ट्रिय सहायता प्राप्त गर्छ । बेलायत त्यो देशको प्रमुख आर्थिक साझेदार हो । पाँच वर्षका लागि दिइने सहायतालाई हालै दोब्बर बनाउँदै बेलायतले जोर्डनलाई ६५ करोड पाउण्डभन्दा बढी आर्थिक सहायता दिने बताएको थियो ।

राजा अब्दुल्लाह मध्यपूर्वका लागि पश्चिमाहरूका लागि एकजना मध्यमार्गी साझेदारका रूपमा चिनिन्छन् । तर बीबीसी लगायतका अन्तरराष्ट्रिय सञ्चार माध्यममा उल्लेख भएअनुसार सम्पत्तिप्रति उनको रुचि सन् २००३ देखि २०१७ सम्म बढिरहेको देखिन्छ ।

यै समयावधीमा देशभित्र निरङ्कुश शासन चलाइरहेको आरोप उनलाई लागिरहेको छ । सरकारी खर्च घटाउने र कर वृद्धि लगायतका राजाका निर्णयसँगै त्यहाँ हालैका वर्षहरूमा प्रदर्शन पनि भइरहेको छ । जोर्डनका अधिकारीहरूले सन् २०२० को जुनमा विदेशमा रकम पठाउने आफ्ना नागरिकहरूलाई कारबाही गरिने बताएका थिए ।

सरकारप्रति असन्तुष्ट रहेका एक जनालाई उद्धृत गर्दै राजा अब्दुल्लाहले ‘रिमोट कन्ट्रोल’ का सहायताले देश चलाइरहेको उल्लेख गरिएको छ । एकजना पूर्व सरकारी कर्मचारीले जानकारी दिएअनुसार आफूले चारदेखि पाँच महिनासम्म देश बाहिर बिताउने बताएका छन् ।

जोर्डनका राजा र रानी

जोर्डनका राजाबारे पछिल्लो खुलासा पाण्डोरा पेपर्सको नयाँ आर्थिक दस्ताबेजमार्फत् भएको हो । पाण्डोरा पेपर्समा विभिन्न अफशोर कम्पनीहरूले दिने गोप्य सेवा र विश्वका सबैभन्दा शक्तिशाली व्यक्तिलाई त्यसबाट प्राप्त भएको लाभको विस्तृत विवरण उल्लेख छ । बेलायतमा बीबीसी पानोरोमा र द गार्जियनले अरू सञ्चार साझेदारहरूसँग मिलेर ब्रिटिस भर्जिन आइल्याण्ड्स, बेलिज, पानामा, हङकङ, साइप्रस, स्विट्जरल्याण्ड र अरू देशहरूसँग मिलेर एक करोड २० लाखभन्दा बढी फाइलहरूमा पहुँच कायम गरेको थियो ।

राजा अब्दुल्लाहले वाशिङ्टन डीसीको जर्जटाउनमा सन् २०१२ र सन् २०१४ मा चारवटा अपार्टमेन्ट किनेका  थिए । त्यसबेला जर्जटाउन विश्वविद्यालयमा अध्ययन गरिरहेका राजाका छोरा राजकुमार हुसैनसँग एक करोड ६० लाख डलर बराबरको खरिदसंग सम्बन्धित कार्य भएको हुनसक्ने बताइएको छ । उनको अमेरिकाको क्यालिफोर्नियाको पोइण्ट डुमेमा रहेको सात कोठे घर त्यहाँ चट्टानमाथि रहेको महँगो सम्पत्तिमा पर्छ । उक्त क्षेत्रमा सर एन्थोनी होप्किन्स र अभिनेत्री जुलिया रोबर्टस लगायत बसिसकेका छन् । सन् २०१४ मा तीन करोड ३५ लाख डलर कीर्तिमानी मूल्यमा ब्रिटिस भर्जिन आइल्याण्ड्सको नाबिस्को होल्डिङ्ग्स एसएले खरिद गरेको थियो ।

ब्रिटिस भर्जिन आइल्याण्डमा रहेका दुईवटा कम्पनीले उक्त घरको अघि र पछाडिको सम्पत्ति सन् २०१५ र सन् २०१७ मा खरिद गरेका थिए र त्यसको कूल लागत छ करोड ८० लाख पुगेको थियो । ती तीन वटै जमिनलाई अहिले एउटै बनाइँदै छ । पाण्डोरा पेपर्सको दस्ताबेजले तीनवटै कम्पनीलाई एउटा पानामाको ल फर्मले प्रतिनिधित्व गर्ने देखाउँछ, जुन गोप्य रूपमा जोर्डनका राजाको स्वामित्वमा रहेको थियो ।

गोप्य स्वामित्व:

ती सम्पत्ति खरिदका लागि अफशोर कम्पनीको प्रयोग गरेकाले सम्पत्तिको स्वामित्वलाई गोप्य राख्न जोर्डनका राजा सफल भएका थिए । राजाका लागि कम्पनी खडा गरेका व्यक्तिहरूले उनको पहिचान नखुलोस् भन्नका लागि सावधानी अपनाएको देखिन्छ । एउटा आन्तरिक दस्ताबेजमा उनलाई ‘थाहा भएको व्यक्ति’ भनेर लेखिएको छ । वित्तीय पारदर्शिता कायम गर्ने अन्तर्राष्ट्रिय प्रयास कठिन रहेको  सङ्केतहरू पनि त्यहाँबाट मिल्छ । सन् २०१७ मा ब्रिटिस भर्जिन आइल्याण्ड्सले एउटा कानुन पारित गर्दै सबै कम्पनीका मालिकहरूले सरकारको नियन्त्रणमा रहने एउटा आन्तरिक रजिस्टरमा पहिचान खुलाउनुपर्ने उल्लेख गरिएको थियो । तर त्यस्तो एउटा कानुन आएको आठ महिनापछि पनि राजा अब्दुल्लाह सम्बद्ध कम्पनीहरूले आफ्ना विवरण सरकारलाई नबुझाएको देखिन्छ ।

राजालाई राजनीतिक रूपमा पहिचान भएका व्यक्तिका रूपमा पनि चिनाइएको छैन । भ्रष्टाचारविरोधी नियमअनुसार सार्वजनिक ओहोदाका प्रबुद्ध व्यक्तिलाई त्यसरी चिनाउनुपर्ने हुन्छ । उता राजा अब्दुल्लाहका वकिलहरूले उनको सम्पत्तिबारे विवरण वास्तविक वा अद्यावधिक नरहेको बताएका छन् । उनीहरूले विदेशका सबै सम्पत्तिहरू व्यक्तिगत धनले खरिद गरिएको उल्लेख गर्दै त्यो धनबाट जोर्डनका नागरिकका लागि पनि परियोजनाहरूमा लगानी गरिने बताएका छन् । अफशोर संयन्त्रहरू राजाको धन लुकाउन प्रयोग नगरिएको भन्दै उनीहरूले गोपनीयता र सुरक्षाका कारणले उच्च पदस्थ व्यक्ति र संस्थाहरूले त्यस्ता संयन्त्रमार्फत् सम्पत्ति खरिद गर्नु साधारण अभ्यास भएको राजाका वकिलहरूको भनाइ रहेको छ । सम्बन्धित ठाउँको कानुनी र आर्थिक दायित्व पुरा गरेर दक्ष जनशक्तिले ती कामको व्यवस्थापन गरिरहेको उनीहरूको तर्क छ ।

को हुन् जोर्डनका राजा ?

राजा अब्दुल्लाह बिन अल हुसेनको जन्म सन्  १९६२ जनवरी  ३० मा भएको हो । उनी राजा हुसेन र बेलायतमा जन्मिएकी रानी मुना अल हुसेनका जेठा सन्तान हुन् । उनले बेलायत र अमेरिकामा अध्ययन गरेका हुन् । उनले स्याण्डह्रस्टस्थित रोयल मिलिटरी एकेडेमीमा सैनिक तालिम समेत लिएका छन् । उनले बेलायती सेना र रोयल जोर्डनीयन सेनामा सेवा गरिसकेका छन् । उनको विवाह १९९३ मा महारानी रानीआँसंग भएको थियो । राजा अब्दुल्लाह बिन अल हुसेनले सन् २००१ को सेप्टेम्बर ११ हमलापछि पश्चिमा देशहरूको सैनिक प्रयासलाई सहयोग गरेका छन् । राजाले जोर्डन भित्रको आर्थिक र सामाजिक आधुनिकीरणको प्रवद्र्धन गरे तर अर्थतन्त्र, खर्च कटौती र कर वृद्धिका कारण उनीविरुद्ध सन् २०१८ मा देशमा ठुलो प्रदर्शन भयो ।

के हो पाण्डोरा पेपर्स ?:

प्यान्डोरा पेपर्स खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र (आईसीआईजे) को नेतृत्वमा ११७ देशका ६०० भन्दा बढी पत्रकारको सहभागितामा गरिएको खोज हो । यो खोजमा १४० भन्दा बढी सञ्चारमाध्यम र सञ्चार संस्थाहरू सहभागी रहेका छन् ।