• मंसिर १२ २०८१, बुधबार

नेपाल-चीन सीमा विवादमुक्त : चिनियाँ राजदूत

आश्विन १९ २०७८, मंगलवार

काठमाडौँ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दुई देशबीचको सीमा विवादमुक्त रहेको बताएकी छिन् । नेपाल र चीनबीच सीमा सम्झौतामा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा ट्विट गर्दै राजदूत यान्छीले यस्तो बताएकी हुन् ।

‘आजकै दिन ६० वर्षअघि मित्रवत वार्ताबाट चीन र नेपालबीच सीमा सम्झौताबाट हस्ताक्षर भएको थियो, त्यसबेलादेखि नै हामीबीच सीमासम्बन्धी कुनै विवाद छैन र यो मित्रताको आधार बन्यो र आपसी फाइदाजनक सहकार्यको सेतु बनेको छ’, उनले लेखेकी छन् ।

गृह मन्त्रालयले हुम्लाको नाम्खा गाउँपालिकाको लिमि क्षेत्रमा उब्जिएको सीमालगायत केही विषयमा द्वीपक्षीय सहकार्य गरेर समस्या समाधान गर्न आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको समाचारमा आइरहेको बेला राजदूत होउको ट्विट सार्वजनिक भएको हो ।

सरकारद्वारा जयनारायण आचार्यको नेतृत्वमा गठित सीमा क्षेत्रसम्बन्धी अध्ययन समितिले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको सुझावका आधारमा परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको थियो । समितिले असोज १० गते गृहमन्त्री बालकृष्ण खाँणलाई अध्ययन प्रतिवेदन बुझाएको थियो ।