अहिलेसम्म पनि रहस्यको गर्भमा रहेको खोजीको क्षेत्र हो, आकाश । आकाश आफैमा अनन्त छ । आकाशतिर हेर्दा केवल ताराहरु मात्र देखिन्छन् । ती पनि कोही ठूला र कोही साना भने धेरै ताराहरु त आकाशमा पीठो खन्याएझैं पोतिएको अवस्थामा देखिन्छन् । यसलाई तारापुञ्ज भनिन्छ ।
आकाशमा ठ्याक्कै कति ताराहरु छन् अहिलेसम्म कसैले पनि यकिन गरेर भन्न सकेको छैन । यसका लागि ब्रह्माण्ड कति ठूलो छ भनेर थाह पाउनु जरुरी छ । कसैलाई पनि थाहा छैन कि ब्रह्माण्ड कहाँसम्म फैलिएको छ ? यसका लागि विज्ञान तथा प्रविधिको सहारा लिनु जरुरी छ ।
विज्ञान तथा प्रविधिको विकास हुँदै गैरहेको छ । दिन दिनै बढ्दै गएको नयाँ–नयाँ वैज्ञानिक प्रविधिको मध्यमबाट मानिसले ताराबारे धेरै कुरा थाह पाउँदै पनि गैरहेका छन् । यसले अध्ययनलाई अझ फराकिलो बनाउँदै लगिरहेको छ ।
विज्ञान तथा प्रविधिको उध्र्वतर विकासका कारण असंभव कुराहरु संभव हुँदै गैरहेका छन् । मानिस ब्रह्माण्डको धेरै टाढासम्म रहेका ताराहरुको पनि अध्ययन गर्न सक्षम भएको छ । कतिपय वैज्ञानिकले के मान्ने गरेका छन् भने कुनै समय प्रविधिको विकाससँगै मानिस ब्रह्माण्डको यति पर पुग्नेछ कि जहाँ ताराहरु पनि हुने छैनन् ।