• असार १७ २०८१, आईतवार

घामको तातो र अंगालोको न्यानो पत्ता लाउने वैज्ञानिकले पाए यस वर्षको नोबेल पुरस्कार

आश्विन १८ २०७८, सोमबार

काठमाडौँ ।सन् २०२१ को चिकित्सा विज्ञान तर्फको नोबेल पुरस्कार दुई अमेरिकी वैज्ञानिकहरुलाई प्रदान गरिएको छ । नोबेल पुरस्कार समितिका एक पदाधिकारी थोमस पर्लम्यानका अनुसार दुई अमेरिकी वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनले यस वर्षको चिकित्सा विज्ञान तर्फको नोबेल पुरस्कार जितेका हुन् । यो संसारको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ ।

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक डेभिड जुलियस र आर्डेम पाटापौटियनले हाम्रो शरीरले कसरी घामको न्यानोपन र माया गर्ने मानिसको अंगालोको न्यानोपन महसुस गर्छ ? भन्ने तथ्य पत्ता लगाएका थिए । उनीहरुले यही कार्यका लागि यसवर्षको चिकित्सा विज्ञान तर्फको नोबेल पुरस्कार जितेका हुन् । ती दुई प्राध्यापकहरुले हाम्रो शरीरले शारीरिक स्पर्शलाई स्नायु प्रणालीमा विद्युतीय सन्देशका रुपमा कसरी परिवर्तन गर्छ भन्नेबारे अध्ययन गरेका थिए । उनीहरुको यो खोजलाई नोबेल पुरस्कार समितिले अत्यन्तै महत्वपूर्णका साथै गहिरो खोज बताएको छ ।

क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक डेभिड जुलियसले खुर्सानी खाँदा हामी किन पिरो साथै पोलेको महसुस गर्छौं भन्ने विषयमा अनुसन्धान गरेका थिए । बताइए अनुसार उनले खुर्सानीलाई पिरो बनाउने तत्वको पनि अनुसन्धान गरेका थिए । आफ्नो अध्ययनमा उनले मानव शरीरको कोषमा रहेको एक विशेष प्रकारको अंशले खुर्सानीमा हुने पिरो रसायनसँग प्रतिक्रिया गर्दा हामीलाई पिरो वा पोलेको महसुस हुने कुरा पत्ता लगाएका थिए ।

त्यही अंशले तापक्रमसँग पनि प्रतिक्रिया जनाउने र तापक्रम बढी तातो हुँदा सो अंश थप सक्रिय बन्ने कुरा पत्ता लगाए । हामीले तातोपानीमा हात हाल्दा शरीरको यही अंश सक्रिय भएर हामीलाई पोलेको अनुभव हुन्छ । उनीहरुको यो खोजपछि तापक्रमसँग प्रतिक्रिया गर्ने अन्य कोषका अंशहरूको समेत खोजी भयो ।

नोबेल पुरस्कार स्वरुप ११ लाख ४९ हजार ११५ अमेरिकी डलर पाउने त्यो जोडीले हाम्रो शरीरमा चिसो हुँदा सक्रिय हुने अंश पनि पत्ता लगाएका थिए । त्यस्तै पाटापौटियनले अर्को अध्ययनले फरक खालका तर कुनै भौतिक दबाव वा स्पर्शले सक्रिय हुने कोषको अंश पत्ता लगाए ।

पुरस्कार कमिटीले उनीहरूको कार्यले हामीलाई हाम्रो स्नायु प्रणालीले कसरी तातो, चिसो वा भौतिक दबाव बुझ्न र त्यसका आधारमा वातावरणमा मिल्न सघाउँछ भन्ने देखाएको बताएको छ । यो ज्ञानले दुखाइ कम गर्ने उपचारमा सहयोग पुग्ने विश्वास कमिटीको छ ।