• मंसिर १२ २०८१, बुधबार

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आश्विन १८ २०७८, सोमबार

काठमाडौँ। । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संघीय संसदका दुवै सदन सहज रुपमा चल्न पाइरहेका छैनन् ।

आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र अध्यादेश खारेजसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

यस्तै, केही प्रतिवेदन र विधेयकहरू सभामा पेस गरिनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखापरीक्षकको अन्ठाउन्नौँ वार्षिक प्रतिवेदन, २०७८’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्नेछन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केही विधेयकहरूलाई सभासमक्ष पेस गर्नेछन् । उनले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७८’ र ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७८’ पेस गर्नेछन् ।

यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाले केही प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । उनले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव, ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव, ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।