काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले निर्वाचनबाट वडादेखि केन्द्रसम्मको नेतृत्व चयन गर्ने कार्यविधि बनाएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्न लागेको माओवादी केन्द्रले वडा, प्रदेश, संघीय निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय इन्चार्ज तथा स्थायी समिति सदस्यसमेत रहेका वर्षमान पुनका अनुसार वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत नेतृत्व चयन हुने छन् । पुनका अनुसार राष्ट्रिय सम्मेलनअघि नै तल्ला कमिटीको सम्मेलन सकिनेछ र नयाँ नेतृत्व चयन हुनेछ । उसले निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने भनी उक्त कार्यविधिमा उल्लेख गरिएको छ ।
असोज ४ गते केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमूखीकरण कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता पुनले सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने बताउँदै त्यसैअनुसार तयारीमा जुट्न माथिल्लोदेखि तल्लो तहसम्मको कमिटीलाई निर्देशन दिएका छन् ।
अध्यक्ष प्रचण्डले पार्टीका सबै तहको नयाँ नेतृत्व निर्वाचनको माध्यमबाट हुने बताएका छन् । अब उप्रान्त नेतृत्व छनोट गर्दा सहमति र तालीबाट नहुनेसमेत उनले बताए । वडादेखि संघसम्मको नेतृत्व चयन निर्वाचनकै माध्यमद्धारा हुने प्रष्ट पारेका छन् । प्रचण्डको भनाइअनुसार आसन्न पुषमा हुने सम्मेलनमा माओवादी केज्न्द्रको नयाँ नेतृत्व निर्वाचनको माध्यमद्धारा निर्वाचित भएर आउने छ ।
अध्यक्ष प्रचण्ड र पुनले सो भर्चुअल बैठकमा वडादेखि केन्द्रसम्म निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चयन गर्न लागेको बताए । तथापि माओवादी केन्द्रले निर्वाचनबाट पदाधिकारी चयन गर्ने प्रक्रिया थालेको यो पहिलो अभ्यास हो । यसभन्दा पहिले पार्टीपंक्तिमा माथिदेखि तलसम्मको कमिटीमा नेतृत्व छनोट सहमतिको माध्यमबाट हुने गर्दथ्यो । तर, यसपटक उसले निर्वाचन प्रणालीबाट वडादेखि केन्द्रसम्म नेतृत्व चयन गर्नका लागि झन्डै दुई लाख ८५ हजार पदमा चुनाव गराउने छ ।
यद्यपि विगत र वर्तमानका केही भातृ संगठनहरूको निर्णयलाई हेर्ने हो भने प्रचण्डले नेतृत्व छनोटका लागि निर्वाचन गराउने सम्भावना नरहेको स्रोत बताउँछ । यसभन्दा पहिले उनले सहमतिका आधारमा नेतृत्व चयन गर्दै आएका छन् भने गत महिना योङ कम्युनिष्ट लिग (वाईसीएल)को नेतृत्व चयन निर्वाचनबाट नभै सहमतिकै आधारमा भएको हो ।
वाइसीएलका एक नेताका अनुसार, ‘अध्यक्ष प्रचण्ड कमरेडले हालसम्म निर्वाचनबाटै नेतृत्व चयन गरेको रेकर्ड छैन । उहाँ आफूनिकट नेतालाई जसरी पनि सहमतिको माध्यमबाट छनोट गर्नुहुन्छ । हामीले निर्वाचन प्रक्रियामा जानुपर्छ भने पनि यो कुरा उहाँका लागि स्वीकार्य हुँदैन ।’ त्यस्तै वाइसीएलकै अन्य केही नेताले पार्टी पुरानै टिकेप्रथाबाट गुज्रिएको आरोप लगाउँदै आएका छन् । लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएपनि अध्यक्ष प्रचण्ड कमरेडले निर्वाचन गराउने सम्भावना छैन । उहाँले रोज्ने भनेको उहीँ सहमति नै हो । सहमतिकै माध्यमबाट नयाँ नेतृत्व चयन हुँन्छ र भएको छ ।
अध्यक्ष कमरेड प्रचण्डले निर्वाचन गर्न नदिएपछि आफूहरूलाई सहमतिको माध्यमबाट नेतृत्व छनोट गर्न निकै कठिन भएको बताउँछन्, एक वाइसीएल नेता । उनका अनुसार, ‘प्रचण्डले चुनाव नगर्न निर्देशन दिएकै कारण नेतृत्व चयनमा कठिनाइ भएको हो । वाईसीएलको राष्ट्रिय सम्मेलन आगामी मंसिरदेखि फागुनभित्र गर्ने समझदारी गरेर संयोजक र सहसंयोजक चयन गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको छ ।
त्यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्र्थी यूनियन (अनेरास्ववियू) क्रान्तिकारीको बैठक असोज ९ गते तोकिएको थियो । ‘त्यसपछि तत्काल पहिले तोकेको मिति पछाडि सारेर असोज १४ देखि १६ गते मिति तोकियो । यसरी बैठकको मिति सार्नुको कारण नेतृत्वमा सहमति खोज्नु नै हो भन्छन्, अनेरास्ववियु (क्रान्तिकारी)का एक केन्द्रीय सदस्य ।’ उनले भनेझैँ अध्यक्ष प्रचण्डले ठीक त्यसरी नै अखिल क्रान्तिकारीको नयाँ नेतृत्व छनोट सहमतिबाटै गरेका छन् । अखिल क्रान्तिकारीको २२ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व निर्वाचनको माध्यमबाट आउनुको साटो प्रचण्डले सिधै पञ्चा सिंहलाई आज (आइतबार) बिहानै सहमतिको आधारमा प्रचण्डले अध्यक्ष घोषणा गरेको बताएका छन् ।
वाइसीएल र अनेरास्ववियु क्रान्तिकारीका पदाधिकारीले भनेझैँ माओवादी केन्द्रका शीर्ष नेता पनि निर्वाचनभन्दा सहमतिको पनि हुनसक्छ भन्छन्, माओवादी केन्द्र नेता हरिबोल गजुरेल । हरिबोल थप्छन्, ‘सकभर नेतृत्व चयन गर्नका लागि निर्वाचन नै हुन्छ । विवादरहीत ठाउँमा सहमति भए पनि विवादित ठाउँमा निर्वाचन नै हुन्छ । यद्यपि सम्मेलनमा प्रस्तावित नाम चित्त नबुझे मात्रै उम्मेदवारीको प्रक्रिया अघि बढ्छ ।
तर, २०७१ बैशाखमा विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनमा पनि नेतृत्व चयनमा सहमतिकै आधारमा भएको थियो । त्यतिबेला पनि निर्वाचन मण्डलबाट पदाधिकारी चयन गरिएको थियो । निर्वाचन प्रणालीबाटै नेतृत्व चयन गर्ने भनिए पनि त्यसो हुन सकेको थिए । अन्तमा आएर सहमतिको माध्यमबाट नै नयाँ नेतृत्व छनोट गरिएको थियो ।