• आश्विन १३ २०८१, आईतवार

धैर्य र आनन्दको जीवन बिताएर १२७ वर्ष बाँच्न सफल यी मानिस

आश्विन १७ २०७८, आईतवार

काठमाडौँ । आजका कुनै कुनै मानिस सानो काममा अवरोध आउँदा अर्थात् कुनै सानो काममा समेत सफलता हासिल गर्न नसक्दा निरास भएको घटनाका समाचार आइरहेका हुन्छन् । यतिसम्म कि कुनै कुनै मानिसले त सानो काममा समेत अवरोध आउँदा आफ्नो जीवनलाई आफैले जानी जानी टुंग्याएका समेत देखिन्छ । तर यस्ता खबरहरुको बीचमा एउटा घटना भने मानिसहरुलाई हतोत्साही हुनबाट प्रेरणातिर लैजाने र जीवन टुंग्याउने भन्दा जीवन लम्ब्याउनेतिर सोच्न लगाउने गरि घटेको छ । जहाँ एक मानिस कम्तिमा १२७ वर्ष बाँचेर मानिसहरुका प्रेरणाका स्रोत बनेका छन् ।

एक उत्तरपूर्वी अफ्रिकी देश एरिट्रीयामा एक मानिस कम्तिमा १२७ वर्ष बाँचेको समाचार आएको छ । तर गत सोमबार उनको देहान्त भएको छ । नाताबे तिन्सिउ नाम गरेका एक व्यक्ति कम्तिमा १२७ वर्ष बाँचेर गत सोमबार उनको मृत्यु भएको उनको परिवारले बताएको हो । एरिट्रीयाको करिब ३ सय जनसंख्या भएको गाउँ अजिफामा उनको मृत्यु भएको परिवारले जनाएको छ । उनका नाति जेरे नाताबेका अनुसार उनी यति लामो समय बाँच्नुको कारण उनमा रहेको धैर्यता, उदारता र आनन्दित जीवन बिताउने शैली जिम्मेवार रहेको छ ।

नाताबे तिन्सिउको परिवारको दावी अनुसार उनको जन्म सन् १८८४ मा भएको थियो तर उनको चर्चले राखेको जन्मदर्ता सहितको तथ्याङ्कमा नाताबे तिन्सिउको जन्म सन् १८९४ मा भएको देखिन्छ । जे होस् परिवारको दावीलाई मान्ने हो भने उनी १३७ वर्ष बाँचेको देखिन्छ भने प्रमाणित तथ्य चर्चको जन्मदर्ता तथ्याङ्कलाई आधार मान्ने हो भने उनी १२७ वर्ष बाँचेको देखिन्छ । मौखिक र अलिखित भन्दा लिखित र प्रमाणित तथ्यको आधारमा हिसाब गर्दा पनि नाताबे तिन्सिउको नाममा सबैभन्दा धेरै वर्ष जीवित रहने व्यक्तिको विश्व रेकर्ड लेखिने उनको परिवारले अपेक्षा गरेको छ ।

चर्चले राखेको जन्मदर्ता तथ्याङ्कमा उनी सन् १८९४ मा जन्मिएको उही वर्ष चर्चमा उनका लागि कार्यक्रम एक कार्यक्रम गरिएको देखिन्छ । यस हिसाबले पनि नाताबे तिन्सिउको मृत्यु हुँदा उनी १२७ वर्षका रहेका थिए । तर उनको परिवारका अनुसार उनी सन् १८८४ मा जन्मिएका थिए भने इसाई धर्म अनुसार उनलाई १० वर्ष पुगेपछि मात्रै एक पादरी गाउँमा आउदा चर्चमा प्रवेश गराइएको थियो । बीबीसीमा उल्लेख भए अनुसार अर्को कुरा के छ भने सो गाउँमा सात वर्ष पादरी रहेका फादर मेन्टेले चर्चका कागजातमा उनी सन् १८९४ मा जन्मिएको देखिने पुष्टि गरेका छन् । उनले आफ्नो उपस्थितिमा सन् २०१४ मा गाउँलेहरूले उनको १२०औँ जन्मदिन मनाएको बताए ।

विश्व रेकर्ड कायम गर्नको लागि उनका नाति जेरेले गिनिज बुक अफ वर्ल्ड रेकर्डलाई जानकारी गराइसकेको बताए । अहिलेसम्मको रेकर्ड अनुसार सन् १९९७ मा १२२ वर्षको उमेरमा मृत्यु भएकी फ्रान्सेली महिला जीन काल्मेन्टलाई सबैभन्दा धेरै बाँचेका व्यक्ति मानिँदै आएको छ ।

नाताबेले सन् १९३४ मा विवाह गरेका थिए र उनकी पत्नीको सन् २०१९ मा ९९ वर्षमा मृत्यु भएको थियो । जीवनमा पशुपालन पेसा गरेका नाताबे तिन्सिउले आफ्नो जीवनकालमा आफ्नै उत्तराधिकारी पाँच पुस्ता हुर्केको देख्न पाएका थिए ।