काठमाडौं । अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या सातलाख नाघेको छ । द न्युयोर्क टाइम्सका अनुसारका अनुसार कोरोनाविरूद्धको खोप सर्वसुलभ भए पनि अमेरिकीहरूले सहजै खोप नलगाएकाले कोरोनाबाट मृत्यु हुने क्रम नरोकिएको हो ।
पछिल्लो समय कोरोनाबाट ज्यान गुमाउनेहरूमध्ये धेरै खोप नलगाएका मानिसहरू छन् । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार गत शुक्रबारसम्म अमेरिकामा कोरोनाबाट सात लाख बढी मानिसको मृत्यु भएको थियो ।
गत जुनपछिमात्रै अमेरिकामा १ लाख मानिसले कोरोनाबाट ज्यान गुमाएका छन् । खोप लगाउने दर एकदमै कम भएका दक्षिणी राज्यहरू फ्लोरिडा, टेक्सास, मिसिसिपी, लुजियानामा पछिल्लो समय मृत्युदर बढेको छ ।
अमेरिकी इतिहासमा कुनै महामारीबाट यति धेरै मानिस मरेको यो पहिलो पटक हो । सन् १९१८ र १९१९ मा फैलिएको इन्फ्लुएन्जा महामारीबाट अमेरिकामा लगभग ६ लाख ७५ हजार मानिसको मृत्यु भएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।
कोरोनाबाट सात लाख नागरिकको मृत्यु भएकोपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले गहिरो दुःख व्यक्त गरेका छन् । उनले कोरोनाबाट हुने मृत्युलाई कम गर्ने एक महत्वपूर्ण औजार खोप भएकाले सबैलाई खोप लगाउन पनि अनुरोध गरेका छन् ।
सन् २०१९को अन्त्यतिर चीनबाट सुरू भएको कोरोना महामारीबाट अमेरिकामा चार करोड ३६ लाख मानिस संक्रमित भएका छन् । कोरोनाबाट सबैभन्दा ठूलो मानवीय क्षति व्यहोर्ने मुलुक पनि अमेरिका नै हो । अमेरिकापछि ब्राजिललाई ५ लाख ९७ हजार र भारतमा ४ लाख ४८ हजार मानिसले कोरोनाका संक्रमणपछि ज्यान गुमाएका छन् ।