काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले एकल शक्तिको आधारमा पाँच वर्ष देश चलाउने बताएका छन् ।
महाधिवेशनबाट आगामी आमनिर्वाचनमा सबै कम्युनिस्ट पार्टीहरु एक भए पनि जित्ने तागत कांग्रेसले आर्जन गर्नुपर्ने बताएका हुन् ।
शनिबार कांग्रेसको काठमाडौँ महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘ढिलो चाँडो हुनसक्छ । तर अब पार्टीको महाधिवेशन हुन्छ । यो महाधिवेशनबाट बाहिर निस्किनेबित्तिकै हाम्रो अगाडि लगातार तीन तहको चुनाव आउँछ । कांग्रेस अर्काले पस्केको खाने जात होइन । हामी आफैँले एकल शक्तिको आधारमा काठमाडौं महागनरमा काँग्रेसको झण्डा गाड्ने हो । र यो पटक कोहीसँग मिलेर होइन, एकल शक्तिका आधारमा पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसले लिने हो ।’
उनले महाधिवेशनबाट कांग्रेसले सबै कम्युनिस्ट एक भएर आए पनि, सबै मधेसी दलहरु एक भएर आए भने पनि जित्ने तागत राख्ने नेतृत्व र संगठन निर्माण गर्नुपर्ने बताए ।