• मंसिर १७ २०८१, सोमबार

हिन्दु देवताको चित्र बनाउने मुस्लिम युवती

आश्विन १६ २०७८, शनिबार

काठमाडौँ । मानिसका सौख पनि कस्ता कस्ता हुन्छन् ! मानिसको सौखलाई कुनै भूगोल जाति तथा धर्मले रोक्न सक्दैन भन्ने कुराको पछिल्लो उदाहरण बनेकी छिन् भारतकी एक मुस्लिम युवती । भारतको केरला राज्यको कोझिकोड महानगरपालिका निवासी मुस्लिम युवती जासना सलीम त्यस्ती युवती हुन्, जसले आफ्नो सौख पुरा गर्न आफू मुस्लिम भएर पनि हिन्दु धर्म र संस्कारमा पुजिने देवताहरुका मुर्ती बनाउने काम गर्दै आएकी छिन् ।

मुस्लिम्म युवती जासनाको सबैभन्दा मनपर्ने तस्विर हो कृष्ण, जसको हातमा मख्खनको भाँडो हुन्छ र त्यो भाँडोसँगै कृष्णको अनुहारमा मख्खन लत्पतिएको समेत हुन्छ । २८ वर्षीया मुस्लिम युवती जासना सलीम विगत ६ वर्षदेखि लगातार आफ्नो रहर मेट्न कृष्ण लगायतका हिन्दु देवदेवीहरुको चित्र बनाइरहेकी छिन् । उनले आफूले बनाएका त्यस्ता चित्र कृष्ण मन्दिरमा चढाउने समेत गर्छिन । भगवान कृष्णलाई चित्रकलामा प्रस्तुत गर्ने आफ्नो सपना पुरा गर्न पाउँदा आफूलाई धेरै खुशी लागेको जासनाले उनले बताएकी समेत छिन् ।

आफूले बनाएको कृष्णको चित्रका साथ मुस्लिम युवती जासना सलीम

हालै जासनाले आफूले बनाएको चित्र ८० वर्ष पुरानो मन्दिर, उलानाडू श्रीकृष्ण स्वामी मन्दिर केरलामा चढाएकी छिन् । सो मन्दिर पत्तनमतिट्टा जिल्लाको पन्दलम शहरमा छ, जहाँ बालकृष्णको पूजा हुन्छ । त्यस अघि सो मन्दिरको समितिले जासनाले बताएको चित्र गुरुवायूरको प्रसिद्ध कृष्ण मन्दिरमा चढाइएको थाहा पाएको थियो । त्यसपछि समितिले आफ्नो मन्दिरका लागि पनि चित्र बनाइदिन आग्रह गरेको थियो ।

जासनाका लागि श्रीकृष्णको अनुहार प्रेरणादायीको अनुहार थियो । उनलाई श्रीकृष्णको अनुहार अत्यन्त मनमोहक समेत लाग्ने गर्छ रे । उनले सबैभन्दा पहिले बनाएको कृष्णको तस्विरमा श्रीकृष्णका हात बाँधिएका बनाएकी थिइन् । त्यसपछि उनले श्रीकृष्णले मख्खनको भाँडोमा हात हालेको तस्विर देखिन् त्यसपछि उनले त्यस्तै चित्र बनाउन सुरु गरिन् ।

एक पटक भारतका एक पत्रकारले किन उनले श्री कृष्णको मक्खन र माटोको भाँडावाला चित्रहरू मात्रै किन बनाउँछिन् भनेर उनलाई सोधेका थिए । पत्रकारको प्रश्नको जवाफमा जासनाले भनेकी थिइन्, ‘भाँडोमा हात हालेको कृष्णको तस्बिर देख्दा यस्तो लाग्छ कि उनी त्यो भाँडा अरू कसैले लिएर भाग्छ कि भनेर डराएका जस्तो देखिन्छ । तर, हातमा मक्खन सहितको कृष्णको तस्विर अति सुन्दर छ किन कि यसमा एक व्यक्ति आफ्नो निकै मनपर्ने खाने कुराका साथ सन्तुष्ट देखिन्छन् ।’

भारतको पुणेस्थित एक आध्यात्मिक संस्था तत्वामासीका जेपीके नायरका अनुसार सो आध्यात्मिक संस्था जासनाले बनाउने चित्रको प्रायोजक हो । जासनाले भने आफूले कुनै आर्थिक लाभको लागि नभएर आफ्नो मानसिक सन्तुष्टीको लागि मात्रै यस्ता चित्र बनाउने गरेको  बताएकी छिन् ।