एउटै कुवा वा धाराबाट एकै समयमा एउटा तामाको गाग्रो र एउटा घैंटोमा ल्याएको पानी केही घण्टापछि खाँदा स्वादमा फरक पाइन्छ । गाग्रोको पानी केही तातो हुन्छ भने घैंटोको पानी चीसो हुन्छ । गाग्रोको पानी बाह्य वातावरण वा तापक्रमअनुसार बदलिएको हुन्छ । वातावरण तातो हुँदा यसमा रहेको पानी पनि तातो हुन्छ ।
तर बाहिरी वायु वा वातावरण निकै तातो भए पनि घैंटोको पानी भने चीसो हुन्छ । यसमा बाह्य वायु र वातावरणको प्रभाव निकै कम परेको हुन्छ । त्यसैले घैंटोको पानी बाह्य वातावरणको तुलनामा चीसो सुन्छ ।
यी सबै चीसो र तातो स्वादका कुराहरु भए । तर उही पानी एकै समयमा ल्याएर राख्दा यी दुई भिन्न भाँडामा किन यति फरक भए ? तापक्रमले किन गाग्रोमा प्रभाव पार्यो, तर घैंटोमा पार्न सकेन ? यसका केही वैज्ञानिक भनौ त प्राकृतिक कारण छन् ।
गाग्रो धातुबाट बनेको हुन्छ । यसमा प्वाल हुँदैनन् । तर घैंटामा अनगिन्ती ससाना प्वालहरु हुन्छन् । यी आफैमा असङ्ख्य र अदृश्य हुन्छन् । यस्ता प्वालबाट पानी बाहिर निस्कन निकै लामो समय लाग्छ । पानी पनि निकै कम मात्रामा मात्र निस्कन्छ । यस्ता प्वालबाट निस्केको पानी त निस्कदै गर्दा घैंटोको चारैतिर आकार दिइरहेका माटाको कणहरुले सोसिसक्छन् ।
पानी बाहिर आएको पनि देखिदैन । तर घैंटोको आवरण भने केही रसिलो र चीसो भने हुन्छ । हामीले हात लगाएर छुँदा यस्तो अनुभूति गर्न सक्छौं । पानीको यो मात्रा र चिस्यानले गर्दा त्यहाँबाट निस्केको पानी बाफ बनी तातो हुन पाउँदैन । यो बाफ बनेर तातो हुन पाउँदा मात्र घैंटोभित्रको पानी तात्दै जाने हुन्छ । नतातेर चीसै रहने भएकाले बरु यसले उल्टै घैंटाभित्रको पानीका लागि वातानुकूलनको काम गरिरहेको हुन्छ । यसका कारण घैटोभित्रको पानी चीसो भैरहन्छ ।
गाग्रीमा भने घैंटामा जस्ता आँखाले नदेखिने ससाना प्वालहरु हुँदैनन् । यसका कारण पानीको थोरैभन्दा थोरै मात्र भए पनि गाग्रीभित्रको पानीको मात्रा बाहिर निस्कन पाउँदैन । धातु आफैमा तापको सुचालक हो । यसले गर्दा पनि गाग्रो बाह्य तापबाट निकै प्रभावित हुन्छ । र, यो तात्न थालिहाल्छ । गाग्रोको बाहिरी भाग तातिन थालेसँगै यसको भित्री भाग पनि तात्न थाल्छ । यो ताप गाग्रोभित्र रहेको पानीको अणुमा प्रसारण हुन थाल्छ । अनि गाग्रोको पानी तातो हुन्छ ।