काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा नेपाल प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बिहीबार सो अभियोगमा पक्राउ परेका व्यक्ति पर्वत जिल्ला मोदी गाउँपालिका वडा नम्बर ५ का २४ वर्षीय सूर्यबहादुर भण्डारी रहेको प्रहरीले बताएको छ ।
१४ वर्षीया एक किशोरीलाई असोज ६ गते प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारी निज भण्डारीले नेपाल भारत सिमाना जोगबनी पुर्याएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई कुश्मा नगरपालिका–६ शिवालय चोकबाट पक्राउ गरेको हो ।
उनी उपर मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।