• असार १६ २०८१, शनिबार

कसरी भयो सरस्वतीको मूल्य ८१ लाख ? हेर्नुहोस् उनका थप विशेषता

आश्विन १४ २०७८, बिहीबार

काठमाडौँ । संसारमा विभिन्न अनौठा तथा रोचक रेकर्ड भइरहेका हुन्छन् । मानिसको संसारमा आफ्नै रेकर्ड स्थापित हुँदै गएका छन् भने पशु जगतमा पनि दिनानुदिन विभिन्न रेकर्ड कायम हुँदै र रहँदै आएका छन् । पशु जगतको यस्तै रेकर्ड कायम गर्नेमा अहिले भारतमा एउटा भैंसी देखा परेकी छिन् ।

हालै भारतमा एउटी भैंसीलाई एकजना किसानले ५१लाख भारतीय रुपैयाँ तिरेर किनेका छन् । भारतको हरियानाका किसान सुखवीर सिंहले पालेकी सरस्वती नामकी ती भैंसीलाई लुधियानाका पवित्र सिंहले नेपाली रुपैयाँ ८१ लाख ६० हजार हालेर गत सोमबार खरिद गरेका हुन् ।

विश्व रेकर्ड कायम गर्ने भैंसी :

संसारमा यतिधेरै मूल्यमा कुनै भैंसी विक्री भएको घटना भने सम्भवत यो नै पहिलो हो । पहिले कुनै समय कसैले १ करोड मूल्य दिँदा पनि भैंसी बिक्रि नगरेका किसान सुखवीरले यसपाली त्यो भन्दा कमै मूल्यमा ती भैंसी बेचिदिए । सरस्वती नामकी ती भैंसीले पछिल्लो पटक भारत लुधियानाको जगराँवमा आयोजित डेरी एण्ड एग्रो प्रदर्शनीमा भाग लिएर ३३.१३१ किलो दुध दिएर संसारकै सबैभन्दा धेरै दुध दिने भैंसीको रेकर्ड कायम गरिन् ।

सो रेकर्ड कायम गर्नसाथ त्यहाँको प्रदर्शनीबाट सरस्वतीले भारतीय रुपैयाँ २ लाख अर्थात् नेपाली रुपैयाँ ३ लाख ८० हजार पुरस्कार समेत पाइन् । त्यो भन्दा पहिले पाकिस्तान देशकी भैंसीको नाममा रहेको सबैभन्दा बढी दुध दिने भैंसीको रेकर्ड तोडेर सरस्वती बढी दुध दिने भैंसी बनेकी हुन् । यसअघि पाकिस्तानकी भैंसीले ३२.०५० किलो दुध दिएर सो रेकर्ड कायम गरेकी थिइन् ।

गतवर्ष भारतको हिसार क्षेत्रमा आयोजित प्रतियोगितात्मक मेलामा सरस्वती नामकी ती भैंसीले २९.३१ किलो दुध दिएर प्रथम पुरस्कार हासिल गरेकी थिइन् । त्यस्तै हिसारमै गरिएको केन्द्रिय भैंसी अनुसन्धान इन्स्टिच्युडमा भैंसी अनुसन्धान कार्यक्रममा २८.८ किलो दुध दिएर पनि ती भैंसीले पुरस्कार जितेकी थिइन् ।

२ लाख ८ हजारमा किनेको भैंसी ८१ लाख ६० हजारमा विक्री :

चारवर्ष पहिले सुखवीर सिंहले ती मुर्रा जातकी भैंसी भारतकै बरवाला जिल्लाको खोखा गाउँ निवासी किसान गोपीरामबाट २ लाख ८ हजारमा किनेका थिए । ती भैंसीले विभन्न रेकर्ड कायम गरेपछि भैंसी हेर्न मानिसहरु आउने गरिरहेका थिए तर भैंसीले विश्व रेकर्ड नै कायम गरेपछि त झन् भैंसी हेर्नेको भिड नै लाग्न थाल्यो ।

अन्ततः सुखवीर सिंहले पंजाव, राजस्थान, तथा उत्तर प्रदेशका विभिन्न ठाउँहरुबाट भेला भएका करिव सातसय किसानहरुको एक समारोहकाबीच उनले ती भैंसी बेचे ।