काठमाडौं । नेपाल पुनमगर समाज काठमाडौं उपत्यकाको प्रथम अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । बुधबार सम्पन्न भएको कार्यक्रमको अध्यक्षता हर्कबहादुर पुनमगरको रहेको थियो भने पूर्वमन्त्री गणेश पुनमगरको प्रमुख आतिथ्यता रहेको हो ।
कार्यक्रममा नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगर विशिष्ट अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा जनजाति चलचित्र संघका पूर्वअध्यक्ष प्रतिमाया पुन, समाजसेवी जुनु पुनमगर, मगर उत्थान समाज गोंगबुका सहसचिव बुद्धिमाया पुनमगर लगायतको उपस्थिति थियो ।
सो अवसरमा काठमाडौं उपत्यकामा बसोबास गर्ने पुन समुदायका सदस्यहरुको सहभागितामा तदर्थ समिति बनाएर आउँदै गरेको २०७८ को जनगणनामा पुनहरु मगर हौं भन्ने सूचना जनतामा लैजाने र जनगणनाको फारम भर्दा जातिमा मगर नै लेखाउनको लागि सबै पुन मगरहरुलाई सूचित गराउने निर्णय भएको छ ।
पुनमगरको उपत्यका तदर्थ समिति किन बनाइयो ?
१) काठमाडौं उपत्यकामा स्थायी वा अस्थायी बसोबास गर्ने सबै पुनमगरहरुलाई गोलबन्द गर्न ।
२) पुनमगरहरुको इतिहास, पुर्खा, वंशावलीको खोज अनुसन्धान गरि प्रकाशन गर्न ।
३) मगर जातिभित्र बोलिने तिन भाषामध्ये पुनमगरहरुले बोल्ने मातृभाषा मगर खामपाङ, सामाजिक, सांस्कृतिक पक्षको संरक्षण र सम्वर्द्वन गर्न ।
४) पुनमगरहरु बीच आपसमा भाईचारा, भातृत्व र कुलगोत्र (गोत्यार), पितृ र दाजुभाई र दिदी–बहिनीको सम्बन्धलाई प्रगाढ बनाउन ।
५) पुनमगरको इतिहासदेखि वर्तमानसम्मको योगदान, वीरता, लगानी र ऐतिहासिक विरासतको रक्षा गर्न ।
६) पुनमगरहरुको बिचमा कसैलाई समस्या पर्दा साथ सहयोग र हार्दिकता र आफ्नोपन सहितको सम्बन्ध विस्तार गर्न ।
७) मगरहरुको साझा संस्था नेपाल मगर संघले लिएको नितिगत कार्यक्रमलाई सफल बनाउन ।
८) पुनमगरका सदस्यहरुलाई शैक्षिक, भौतिक नैतिक, आर्थिक र राजनैतिक सहयोग गरि सफल बनाउन ।
९) पुनमगरहरुको इतिहासदेखि चलि आएका संस्कार, संस्कृति चालचलन र रितिरिवाज (प्रकृतिवाद)को रक्षा गर्न ।
पुनमगर समाजले माथी उल्लेखित उद्धेश्य प्राप्तिका लागि र पुनमगरको समग्र पहिचान रक्षा लगायतका विभिन्न विषयमा देशभरका पुनहरुलाई गोलबन्द गर्ने उद्धेश्य राखेको जनाएको छ ।