• मंसिर १२ २०८१, बुधबार

मन्त्रिमण्डल विस्तारमा ढिलाईबारे प्रचण्डको ब्रिफिङ

आश्विन १३ २०७८, बुधबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संगठन विभागले पार्टीको संगठन व्यवस्थित र विस्तार गर्ने योजनासहितका सुझाव स्थायी कमिटी बैठकमा पेश गरेको छ ।

बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा संगठन विभाग प्रमुख जनार्दन शर्माले संगठन व्यवस्थित र विस्तार गर्ने योजनासहितको सुझाव पेस गरेको नेता देवप्रसाद गुरुङले जानकारी दिए ।

‘संगठनलाई अझ व्यवस्थित पार्नका लागि संगठन विभागबाट सुझाव आएको छ । कसरी संगठन व्यवस्थित पार्ने र विस्तार गर्ने भन्नेबारे योजना पनि पेस भएका छन्,’ उनले भने । ती प्रस्ताव स्थायी कमिटीले स्वीकार गरेको पनि गुरुङले जानकारी दिए । पुस ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि संख्याबारे पनि बैठकमा छलफल भएको बताइएको छ ।

यसैगरी विभिन्न समयमा भएका पार्टी एकताका आधारमा संगठनमा समेट्न छुटेका नेताहरुको समायोजनाका लागि गठित कार्यदलले सुझाव पेश गरेको र कार्यान्वयनमा लैजाने निर्णय भएको नेता गुरुङले बताए । त्यस्तै पार्टीको स्कुल विभाग सम्बन्धी व्यवस्थाका बारेमा केही योजनाहरु बैठकमा पेश भएको र अध्ययन गरेर टुङ्गो लगाउने निर्णय भएको उनले बताए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सत्ता गठबन्धनको बैठक बस्नेबारे ब्रिफिङ गरेको नेता पुनले बताए । कानुनी अवरोधले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको भन्दै उनले अब बिहीबार गठबन्धनको बैठक बसेर मन्त्रिमण्डललाई पूर्णता दिने तयारी भएको जनाए ।

स्थायी कमिटी सदस्यसमेत रहेका गुरुङले मन्त्रालयको भागबण्डा मिलेपछि मात्रै पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लाग्ने जानकारी दिए ।

यसैगरी गुरुङले एमालेले सदन अवरुद्ध गरेको अवस्थामा विपक्षीसंग सरकारको तर्फबाट छलफल गरेर संसदको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका थिए ।