• मंसिर ८ २०८१, शनिबार

माकुरो आफ्नै जालोमा किन फस्दैन ?

आश्विन १३ २०७८, बुधबार

माकुरो आफ्नै जालोरुपी घर बनाएर बस्ने र बाँच्ने कीरा हो । यसको शरीरबाट निस्कने रेसाले यसको जीवन निर्धारण गर्दछ । जालो बनाउँदा माकुरो जालो अड्याउनका लागि चारै कुनामा हामफाल्दछ । यसरी हामफाल्दा यसको शरीरबाट निस्कने रेसाले यसलाई सहारा दिएर उडेको जस्तो देखाउँछ ।

यसको कलात्मक क्रियाकलापमा हुने द्रुतताले यो सबै संभव भएको हो । शरीरबाट निस्केको रेसालाई सेलाउन नपाउँदै सेकेण्डभरमा यसले बुन्दै गरेको जालोमा छुवाएर आकार दिइसक्नु पर्छ । यो कलात्मक गतिमा माकुरो असफल भयो वा झुक्कियो वा थोरै मात्र गल्ती गर्यो भने जाल बुन्दाबुन्दै त्यहिं टाँसिएर मर्छ ।

त्यसैले जाल बुन्नु यसको जीवनमरणको खेल हुन्छ । यो सौख वा कलाको विषय होइन । हामीले हेर्दा कलाको विषय हो, तर माकुरो स्वयम्का लागि भने यो अनिवार्य जीवन र जीवनयापनको कुरो हो । तर यो आफैमा निकै खतरनाक हुन्छ ।

हाम्रो घर बाढी, पहिरो, आगो वा भूकम्पले ढलाउँदा हामी आफैको काल बन्ने गर्दछ । तर माकुरोको जालोरुपी घर भने सधैं नै ‘एम्बुस’ बनिरहेको हुन्छ । जालोमा चिप्किने र नचिप्किने दुई भाग हुन्छ । माकुरोले जहिले पनि नचिप्किने भाग वा साइडतिर टेकेर दगुर्ने गर्दछ ।

तर अनय प्रजातिका कीरा फट्यांग्रा भने यो चाल पाउँदैनन् र त्यसैमा टाँसिन्छन् । परिणामतः ती माकुराको सिकार बन्न पुग्दछन् । माकुरोले आफ्नो जालो सधैँ गोलो आकारको बनाएको हुन्छ र आफुलाई बस्ने ठाउँ जालोको माझमा बनाएको हुन्छ ।

जालोको बिचमा टाँसिने भाग माकुरो बस्नेभन्दा विपरीत दिशामा पारिएको हुन्छ ।