काठमाडौँ। महिलाको चरित्र हत्या हुने गरी भिडिओ तथा अन्तर्वार्ता प्रसारण गरेको आरोपमा चार जना युट्युबर पक्राउ परेका छन् । विभिन्न युट्युब च्यानलबाट पीडित महिलाको तस्विरसहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याएको आरोपमा चार युट्युबरलाई बुधबार पक्राउ गरेको नेपाल प्रहरीको साइबर ब्युरोलेले जनाएको छ।
पक्राउ पर्नेमा दैनिक खबरका सञ्चालक दाङ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबरका सञ्चालक नुवाकोट घर भई काठमाडौंको नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सराइचुली मिडियाका सञ्चालक मोरङ घर भई काठमाडौंको पेप्सीकोला बस्ने पिंकला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखा घर भई गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ रहेका छन्।
उनीहरुले ती युट्युब च्यानलमार्फत पीडित महिलाको तस्वीरसहित चरित्रहत्या हुने गरी सामग्री प्रसारण गरेको उजुरी परेको ब्युरोले जनाएको छ।
ब्युरोका अनुसार पक्राउ परेका चारै जनामाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।