नेपाली संस्कार अनुसार साउन महिनामा लुतो फालिन्छ । त्यसबेला बर्खाको हिलो र अत्यधिक वर्षा तथा अधिक उष्णताका कारण निकै रोगब्याधी फैलन्छन् । जनजीवन आक्रान्त हुन्छ । खेतीपाती पनि यसैबेला चलिरहेको हुन्छ ।
गाउँघरमा त गाउने पनि गरिन्छ– ‘बर्खालाग्यो साइँली खेती र पाती, लाग्यो हिउँद माया र पिरती !’ वास्तवमा बर्खालाई ‘आँखा चिम्म गर्न नपाउने’ अर्थात् फुर्सद केही पनि नहुने समय मानिन्छ । बर्खालाई ‘लाश छोपेर’ खेती गर्ने दिन पनि भनिन्छ । अर्थात् घरमा परिवारका सदस्यको देहान्त भएपनि त्यसको अन्त्येष्टी गर्न बाँकी राखेर खेतीपाती पहिले गरिन्छ । यति ठूलो महत्व हुन्छ खेतीको ।
साउनमा पानी परिरहेको हुन्छ, त्यही बेला साउने संक्रान्तिमा लुुतो फालिन्छ । साझँपख तयार पारिएको सानो छुप्रोमा त्यस बर्खामा फलेका फलफूल, अन्नपात, कुरिलो, भलायो आदि राखिन्छ । सल्लाको दियालो बालेर घरैपिच्छे बृद्धबृद्धा, युवा, केटाकेटी कोही पनि नछुटेर हातमा दियालोको ‘झर्को’ लिएर ‘लुतो, पिलो, दादुरा, बिमिरा, घमिरा, रुघाखोकी, कोखा खाने, मुटु खाने, ढाड दुख्ने, जीउ सिल्किने, टाउको दुख्ने, रिंगाउने, घुमाउने सबै लैजा’ भनेर चिच्याएर नारा लगाएरै लुतो फलिन्छ ।
अहिले देउवा सरकारले राजनीतिक दल विभाजन गर्ने अध्यादेशको लुतो फालिसकेको छ । घरेलु समस्या हल गर्न ल्याएको यो बर्खाको जस्तै ठूलो काम थियो, देउवा सरकारका लागि । यसले दोस्रोपटक पुनस्थापित संसदमा लुतोजन्य रोगव्याधी नै ल्यायो । संसदमा मुटु खाने, कोखो दुख्ने, रिंगाउने, घुमाउने, जीऊ सिल्किने, पिलो खटिरो सबै ल्यायो । हलचल मच्चियो । जनता समाजवादी पार्टी नेपालमा दुईवटा साना छाप्रा बनाइए : जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी । एमालेमा पनि दुईवटा छाप्रा बने : नेकपा (एमाले) र नेकपा एकीकृत समाजवादी । यी छाप्राहरुमा फलफूल राखेर लिपपोत गरी लुतो फालियो नाराबाजीका साथ धुमधडका मच्चाएर । संसद भवनभित्र फालिएको लुतो नेपाली जनताले नाङ्गा आँखाले धित मरुञ्जेल हेरे ।
त्यसपछि सरकार अध्यादेशको बिदाइ गरेर लुतो फाल्ने प्रक्रिया अन्त्य भएको सन्देश दिनतिर लागेको छ । अध्यादेश जहाँबाट आयो, त्यतैतिर गयो उल्कासरी । सत्ता पक्षले प्रतिपक्ष र प्रतिपक्षले सत्तापक्षतिर मिल्काएको दियालोको राँको अझैं पनि निभ्न भने बाँकी छ । यसलाई निभाउन प्रम देउवाले प्रतिपक्षी एमाले नेता केपी शर्मा ओलीसँग सहयोग र सहकार्यको हात अघि बढाउने निरन्तर पहल गरिरहेका छन् ।
अध्यादेशको लुतो फालेपछि भदौरे संक्रान्तिको ‘चोखेचोर’ फाल्न अझैं बाँकी छ । चोखेचोर फाल्ने समयसन्दर्भका हिसाबले मकै र जुडा खेतको धान पाक्न तयार भएको बेला हो यो । यो बेलामा पाकेको नयाँ बालीमा ‘चोखेलाग्ने’ अर्थात् कसैको कुदृष्टि पर्ने र ‘चोर पस्ने’ संभावना हुन्छ । त्यसका लागि पाक्न थालेका बारी र खेतमा डुल्दै हातमा चरा, मुसा, धनुष, बाण र यस्तै प्रकारका आकारमा तेलमा पकाइएको रोटी राखेको टपरी समाएर चर्को चर्को स्वरमा बोलिन्छ– ‘चोखे चोर, डंकाडंकिनीको आँखा फोड ।’
नेपाल उसै त भूराजनीतिक अवस्थितिका कारण विश्वका महाशक्तिहरुको चासोमा परेको छ । त्यसमा पनि पानी, सालको जंगल र खनिजजस्ता केही रहरलाग्दा नियमित स्रोतहरु पनि छन् । नेपाल सिंगो देशलाई चीन र भारतजस्ता उदाउँदा महाशक्तिको ‘कैंजा’ वा लगामको रुपमा प्रयोगमा ल्याउने अमेरिकाको दाउँ रहेको छ, यो प्रष्ट बुुझिन्छ ।
दक्षिण एशिया र मूलत : एशियामा विश्व महाशक्तिका रुपमा खेल्नका लागि अमेरिका नेपालमा आफ्नो बलियो उपस्थिति ग्यारेन्टी गर्न चाहन्छ । यो क्षेत्रीय महाशक्तिका रुपमा रहेको भारत र उदाउँदो विश्व महाशक्तिका रुपमा रहेको चीनका लागि पाच्य र सह्य दुवै छैन ।
तर पनि विश्वमा महाशक्तिका बीचमा चलिरहेको शक्तिसंघर्षको ‘चेक एण्ड ब्यालेन्स’का कारण भारत र चीन प्रत्यक्ष रुपमा एमसिसीमार्फत् अमेरिका नेपाल आगमनको विषयलाई मुद्दा बनाएर अघि बढ्न सक्ने स्थिति छैन । यी सबैका लागि खुला विश्व, उदार अर्थतन्त्र र विश्व आर्थिक मिलिभगतका कुरा निर्देशक सिद्धान्तका रुपमा रहेका छन् ।
नेपालमा अमेरिका, भारत, चीनजस्ता विश्व त्रि–महाशक्तिको यो हानथाप र छिनाझप्टीमा देउवा सरकार अमेरिकाकै निकट देखिएको छ । यसका लागि देउवा सरकारले एमसिसीको ‘चोखे चोर’ फाल्न बाँकी छ । यसैका लागि देउवाले प्रतिपक्षी दलका नेता तथा अमेरिका निकट केपी ओलीसँग मन्त्रणा गर्न थालेका छन् ।