काठमाडौँ। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चौनती दिएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिए। पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले संसदलाई २/२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी समेत गरे।
उनले सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि दोहोर्याए।
‘जसले संसद्लाई २/२ चोटी विघटन गर्छ। ती मान्छेहरुले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने? सर्वोच्चको फैसला मान्दैनौं भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने?’, भट्टराईले भने, ‘जुन संसद्लाई विघटन गरिसक्यो, उसले त्यो संसद्मा आउन त लाज हुनुपर्ने हो। मैले पार्टी छोडेपछि दोस्रो संविधानसभा पछि २०७२ सालमा तुरुन्तै राजीनामा गरेको थिँए। उहाँहरुमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ।’
भट्टराईले एमालले आफैंले विघटन गरेको संसदमा अवरोध सृजना गरेर निर्लज्जताको पराकाष्ठ देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताए।