काठमाडौँ। मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) बाँडफाँट गरेको छ ।
कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँट गरिएको हो । कम्पनीले दोस्रो चरणमा रु एक सय अङ्कित दरका कूल ६० लाख कित्ता शेयर निष्कासन गरेको थियो । आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं.१ र ५ तथा बाह्रबिसे नगरपालिका वडा नं.५, ६, ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि कूल निष्काशनको शेयरको ३० प्रतिशत अर्थात १८ लाख कित्ता छुट्याइएको थियो ।
त्यस्तै बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाकै अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि छुट्याइएको थियो । धितोपत्र बिक्री प्रबन्धकका अनुसार निष्काशन गरिएको आइपीओमा कूल एक लाख आठ हजार ५ सय २७ जनाले शेयर खरिदका लागि आवेदन दिएका थिए ।
तीमध्ये आयोजना प्रभावित क्षेत्रअन्तर्गत १२ हजार १ सय ४७ जनाले शेयर खरिदका लागि आवेदन दिएकामा ४९ जनाको आवेदन रद्द भएकाले कूल १२ हजार ९८ जनालाई शेयर बाँडफाँट गरिएको छ । आयोजना प्रभावित क्षेत्रअन्तर्गत १ सय ८० कित्तासम्म आवेदन दिने आवेदकले मागबमोजिमकै शेयर पाएका छन् भने १ सय ९० देखि ४०० कित्तासम्म आवेदन दिएकाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।
त्यस्तै आयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोकका अन्य क्षेत्रका आवेदकमध्ये एक हजार ५ सय १५ जनाको आवेदन रद्द भएर ९४ हजार ८ सय ६५ जना योग्य आवेदकलाई शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । योग्य आवेदकमध्ये न्यूनतम १० देखि अधिकतम ४० कित्तासम्म आवेदन दिने आवेदकले मागबमोजिम शेयर पाएका छन् भने ५० देखि चार सय कित्तासम्मका लागि आवेदन दिनेबाट गोलाप्रथा गरी ४० हजार ५ सय ४८ जनाले थप १० कित्ताका दरले शेयर पाएका छन् ।
कम्पनीले गत वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर बिक्री खुल्ला गरेको थियो । कोभिड–१९को संक्रमण जोखिमका कारण भएको बन्दाबन्दीले केही समय स्थागित भई गत साउन ५ गतेदेखि पुनः निष्काशन खुला भएको शेयरमा स्थानीयवासीले साउन ३२ सम्म आवेदन दिएका थिए ।
यसअघि कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता संस्थाका कर्मचारीका लागि एक करोड ४४ लाख कित्ता शेयर निष्काशन र बाँडफाँट गरिसकेको छ । कम्पनीले सिन्धुपाल्चोकमा १ सय २ मेगावाट क्षमताको मध्य भखभेटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । बाँडफाँटको नतिजा सर्वसाधारणले निष्काशनकर्ता कम्पनी, बिक्री प्रबन्धक र सह–निष्कासन कम्पनीका वेभसाइटबाट प्राप्त गर्न सक्नेछन् ।