• कार्तिक ५ २०८१, सोमबार

नेपाल एकीकरणसँग जोडिएको ईन्द्रजात्रालाई फर्केर हेर्दा

आश्विन ११ २०७८, सोमबार

नेपालको एकीकरण हुनुभन्दा अगाडि सम्पूर्ण एशियामा नैं बेलायती साम्राज्यले अखडा जमाइसकेको थियो । हिमवतखण्ड–नेपालका ससाना हिन्दु राज्यहरुले त्यसबेला असुरक्षित महसुस गरिरहेको अवस्था थियो । गोर्खा एक हिन्दु राज्य थियो ।

गोर्खाका राजा पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गर्न सोच्न थालेको अवस्थाभन्दा अगाडिदेखि नैं हिमतखण्डको यो पवित्र क्षेत्रमाथि बेलायती साम्राज्यको हस्ती इष्ट–इण्डिया कंपनीले आँखा गाडिसकेको थियो ।

वि.सं.१८००मा पृथ्वीनारायण शाहले बनारस भ्रमण गरेकाबेला अंगे्रज (इष्ट इण्डिया कंपनी) ले भारतीय परम्परा र संस्कृति ध्वस्त पार्दै भारतीय जनतालाई कुट्ने मार्ने र जहीतहीं लुटपिटहरु मच्चाउने गरेको अनेकौं प्रकारले सताउने काम गरेको केयौं जानकारी हासिल गर्ने मौका मिल्न गयो ।

पहिला ब्यापार, दोस्रो बाइबल र तेस्रो हतियार इष्ट इण्डिया कंपनीको हत्कण्डा थियो भन्ने पृथ्वीनारायण शाहले त्यहीबेला बुझिसकेका थिए । त्यसलेगर्दा यहाँका पवित्र हिन्दु राज्यलाई इसाई साम्राज्यबाट कसरी बचाउने भन्ने उनमा सोचाई आयो ।

अन्ततोगत्वा बनारसको भ्रमणको बेला उनले हातहतियार बनाउने, कारखानाको निरीक्षण गर्ने, मर्मत गर्ने मुसलमान कालीगढ, केही हातहतियार तथा योद्धाहरु समेत लिएर फर्केका थिए । त्यसपछि पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणमा साम, दाम, दण्ड, भेदको नीति अक्तियार गरेका थिए ।

नुवाकोट, कीर्तिपुर विजय गरेपछि काठमाडौं उपत्यकामाथि नजर लगाए । ईन्द्रजात्राको शुभदिन पारेर पोखराका झागल गुरुडलाई गाइनेको बाजा बजाउन लगाई ११ जना गोर्खाली सेना अघिपछि लगाएर गुरु गोरखनाथको आशिर्वादबाट उत्पे्ररित विशाल नेपाल निर्माणको महायक्षमा पृथ्वीनारायण शाहबाट विक्रम संवत् संवत् १८२५ भाद्र सुदी १४ रोज १ मा ईन्द्रजात्राको दिन गोर्खाका राजा पृथ्वीनारायण शाहबाट ‘विशाल–नेपाल’को सिर्जनार्थ राजसिंहसानमा आरोहण गरे ।

त्यसैले ईन्द्रजात्रा सम्पूर्ण नेपालीहरुको लागि स्मरणीय र महान दिनको रुपमा मानिन्छ । गोर्खाका राजा पृथ्वीनारायण शाहबाट राजगद्दी आरोहण हुनुभन्दा पहिला शाक्य वंशकी जीवित कुमारीको हातको टिका लगाएर कुमारीको पाउमा ढोग गरेर मात्र राजसिंहासनमा बसेका थिए ।

पृथ्वीनारायण शाहको जन्म विक्रम संवत् १७७९ साल पौष २७ गते भएको र उनले विक्रम संवत् १७९९ साल चैत्र २५ गते, रामनवमीका दिन २० बर्षको उमेरमा पहिलो पटक गोर्खामा राज्यरोहण गरेका थिए भने दोस्रोपटक हनुमान ढोकाको राजसिंहासनमा आरोहण गरेका थिए ।

पृथ्वीनारायण शाहबाट काठमाडौं उपत्यका विजयपछि विक्रम संवत् १८२६ मा उल्लेख गरेका थिए– ‘राजा पृथ्वीनारायण शाहको बंश गुह्येकाली र पशुपतिको दुईपाउका धुलाका प्रसादले नेपाल स्थिर भइरहोस्’ (वसन्तपुर दरबारको अभिलेख)। पृथ्वीनारायण शाहले गोर्खाको सट्टा कान्तिपुरलाई राजधानी बनाएर सम्पूर्ण राज्यका जनतालाई राष्ट्रिय एकीकरणमा अभिप्रेरित गराउन सकेका थिए ।

गोर्खा राज्यलाई नेपाल अधिराज्यमा परिणत गरी गोरखकालीमा मानिआएको दशैं र घटस्थापनाका दिनदेखि पुजा आराधना गरिएका फूलपाती गोर्खाबाट बाजागाजासाथ मगर जातिका पुजारीबाट काठमाडौं हनुमान ढोकामा सप्तमीका दिन भित्र्याइने परम्परा चलाए ।

नेपालको एकीकरणमा प्रेरणाको स्रोतको रुपमा पृथ्वीनारायण शाहबाट दिव्य उपदेशमा एउटा सपनाको उल्लेख छ– ‘दुई हातमा दुई खड्ग लिएकी सात÷आठ बर्षकी कन्या म छेउ आइन् र मैले सोधेँ– ‘तिमी कसकी छोरी हौ ?’ ‘पुजारी रानाकी छोरी हुँ’ भन्दै दुबै खड्ग मेरा हातमा दिँदै खोकिलाबाट केही झिकी मेरो मुखसम्म ल्याई ‘यो निल’ तिम्रो मनकान्छे पु¥याइदिएको छ’ भनिन् ।

राष्ट्रिय एकीकरणमा ती मगर कन्याबाट पनि पृथ्वीनारायण शाह प्रेरित भएका थिए । विदेशी पर्यटकहरु जीवित कुमारी र हिन्दु तथा बौद्धहरुको विश्वासप्रति आकर्षित छन् । यो नेपालको सांस्कृतिक परम्परागत गौरव पनि हो । तर नेपालमा धर्मनिरपेक्ष र गणतन्त्र स्थापित गरिएको बेलादेखि कुमारी पुजा र ईन्द्रजात्रा विवादित बन्न पुगेको छ ।

पृथ्वीनारायण शाहले एकीकरण गरेर विभिन्न जातजाति, धर्म, भेषभूषमा विभाजित नेपालीलाई एक नेपाली जातिमा परिणत गराएका थिए । नेपालको एकीकरण हुनुभन्दा अगाडि नेपाली भाषा अनेकौं जातीय भाषाहरुको बीचमा अन्तरभाषाको रुपमा नेपाली भाषा व्यापक भइसकेकाले सबै नेपालीहरुको साझा सरकारी भाषाको रुपमा स्वतः रुपान्तर भयो ।

पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको सन्दर्भमा यसक्षेत्रका तमाम हिन्दु–बौद्धहरुलाई फिरङ्गीविरुद्ध संगठित गराउन गोरखनाथबाट कानफट्टा योगीहरु रातीराती भूतप्रेत भगाउन फेरि लगाउने चौतर्फी खटाएको थियो । कानफट्टा योगीहरुले त्यसबेला शंकास्पद फिरङ्गी र अन्य विदेशी गुप्तचरको कहीकतै सक्रियता भेटेमा गोर्खाका राजालाई जाहेर गर्ने गर्थे ।

फेरी लगाउने परम्परा अध्यावधि पूर्वमा ब्रम्हपुत्र र पश्चिममा काँगडासम्म कायम नैं छ । त्यस्तै घर घरबाट हरेक नरनारीहरुमा सैनिक शक्ति जागरण होस् भन्नका लागि खाँडो जगाउने अभियानको थालनी भएको थियो ।

खाँडोलाई राष्ट्रिय गानको रुपमा मेला वा अन्य जागृत स्थल लगायत बिबाहहरुमा कण्ठस्त पाठ गर्ने गरिन्थ्यो । पृथ्वीनारायण शाहले नेपालको एकीकरणको सन्दर्भमा यहाँका ब्राह्मण, क्षेत्री, मगर, गरुङ, तामाड, कामी, दमाई, सार्की, गाइने, आदि सम्पूर्ण जाति, धर्म र साम्रदायहरुको बीच सँधै समान सद्भाव राख्ने गरेकाले यसक्षेत्रका सबै थरि जातिहरु पृथ्वीनारायण शाहसँग अत्यन्त खुसी थिए ।

नेपाल संसारका राष्ट्रहरुका अगाडि आफ्ना मौलिक विशेषता लिएर उभिएको देश हो । नेपालका तीन विशेषता छन् । १) ऋषिमुनिहरुको जन्म र कर्मथलो– वेद, उपनिषद, पुराण तथा नीति शास्त्रहरुको पौराणिक वैदिक तथा बौद्धभूमि हिमवत्खण्ड नेपाल, २) विश्वका राष्ट्रहरुमा पुरानो सार्वभौमसत्तासम्पन्न देश, ३) विश्वको एक मात्र हिन्दु अभिराज्य ।

हाम्रो पहिलो विशेषता हो– पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दुकुश, उत्तरमा कैलाश मानसरोवर र दक्षिणमा गंगानदीसम्मको यो पौराणिक वैदिकभूमि–हिमवतखण्ड नेपाल हो । अहिले त्यो पौराणिक भूमि खण्डित भएर पूर्वमा मेची र पश्चिममा महाकाली, उत्तरमा हिमालय र दक्षिणमा भारत रहेको छ ।

यो पूण्यभूमिलाई भारतीय हिन्दुहरु देशभूमि भन्छन् भने भारतलाई कर्मभूमि भन्छन् । दोस्रो विशेषतामा नेपालले आफ्नो सार्वभौमसत्तामाथि कहिले पनि विदेशीहरुबाट बिटुलो गर्न दिएन । सार्वभौमसत्तासम्पन्न राष्ट्र नेपालीहरुको गौरव हो ।

तेस्रो विशेषता हो– नेपाल विश्वको एक मात्र हिन्दु अधिराज्य । नेपाल, भारत तथा विश्वका हिन्दुहरु यो हिन्दुस्थल बाँचिरहोस् भन्ने ठान्छन् र यो देवभूमिमाथि सँधै आस्था राख्छन् । पृथ्वीनारायण शाहले उत्तरमा ठूलो राष्ट्र चीन र दक्षिणमा ठूलोको बीचमा कस्तो कुटनीति अवलम्वन गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेर भनेका थिए– ‘यो राज्य दुई ढुङ्गाको तरुल जस्तो रहेछ ।

चीनको बादशाहसँग ठूलो घाहा (राम्रो सम्बन्ध) राख्नु, दषिनको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजनहरु हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन्’ भन्ने पृथ्वीनारायण शाहको कति दुरदर्शी थिए भन्ने कुरा उनका दिव्यउपदेशबाट स्पष्ट हुन्छ ।

नेपालको एकीकरण गर्नुभन्दा अगाडि यस क्षेत्रमा भएका अनेकौं साना राज्यका जनता अत्यन्त निरंकुश शासनमा जकडिएका थिए । राज्यमा केही कुरामा उचनीच भयो भने, कुनै पहुँचवालाले पोल लगाइदियो भने काटिनु पर्ने वा ठूलो सास्ती खानु पर्ने कोही बोल्न नपाउने निरंकुश स्थिति थियो ।

जब साना राज्यहरु सबै मिलाएर एकीकरण भयो, त्यसपछि साना राज्यका रैती र सबै जातजातिले स्वतन्त्रतापूर्वक सुरक्षित भएको महसुस् गरेका थिए । राष्ट्रिय एकीकरणपछि कुनै पनि राज्यका जनताले अन्यायमा पर्नु परेन । ‘जग्गामाथि रैतीको अधिकार’ भन्ने पृथ्वीनारायण शाहको नीतिले सबै राज्यहरुमा ठूलो प्रभाव परेको थियो ।

अर्कोतर्फ नेपालको एकीकरणपछि सबै राज्यका जातजातिको रितिथिति, संस्कृति, धर्म, भाषा र भेषभूषालाई नेपालकै साझा सम्पत्तिको रुपमा ग्रहण गराइयो । अनेकौं जातीय भाषाहरुको बीचमा नेपाली भाषा व्यापक भइसकेकाले सबै नेपालीको साझा भाषाको रुपमा राज्यको सरकारी भाषाको रुपमा स्वतः रुपान्तरहुँदा नेपालको राष्ट्र्यि एकतामा थप बल पुग्न गयो । अंग्रेजहरुले यसक्षेत्रमा कब्जा जमाए भने जनताको कस्तो दुराअवस्था होला भन्ने कुराले उनलाई चिन्तित बनाएको थियो ।

हिमतखण्डका ससाना पवित्र राज्यहरुको बेलैमा अस्मिता र पहिचान जोगाएर राख्नसक्ने पृथ्वीनारायण शाह एक युगपुरुष हुन् । हाम्रो देश सानो भए पनि यहाँ धेरै थरिका जाति छांै । यहाँ कुनै पनि एक जातिलाई होच्याएर र बिर्सेर नेपालको राष्ट्रियता अधुरो हुन जान्छ ।

हाम्रो देशमा विभिन्न जातिहरुको संझौताबाट साझा नेपालको सांस्कृतिक राष्ट्रियता बनेको छ । नेपालको एकीकरणभन्दा पहिला यस हिमतखण्डमा ५४ भन्दा धेरै ससाना स्वतन्त्र हिन्दुराज्यहरु थिए । ती सबै साना हिन्दुराज्यहरु अंग्रेजी साम्राज्यको आक्रमणको सिकार हुन लागेको अवस्थामा गोर्खाका हिन्दु राजा पृथ्वीनारायण शाहले यसक्षेत्रका ससाना हिन्दुराज्यहरुको एकीकरण गरेर यो भूमिलाई हिन्दु अधिराज्य कायम गरेका थिए ।

यो भूमिलाई एकताको सूत्रमा अटल राख्नसक्ने आफ्नै नेपाली भाषा छ, आफ्नै मुद्रा, मौलिक विक्रम संवत् छ । प्राकृतिक र सांस्कृतिक रुपमा नेपाल एक समृद्धशाली भूमि हो ।

‘मेरा साना दुःखले अज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भन्ने पृथ्वीनारायण शाहको दिव्यउपदेशले सम्पूर्ण नेपालीहरुलाई उत्प्ररित गराइरहेको छ ।

पृथ्वीनारायण शाहले उत्तरमा ठूलो राष्ट्र चीन र दक्षिणमा ठूलो राष्ट्र भारतको बीचमा कस्तो कुटनीति अवलम्वन गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेर भनेका थिए– ‘यो राज्य दुई ढुङ्गाको तरुल जस्तो रहेछ । चीनको बादशाहसँग ठूलो घाहा (राम्रो संवन्ध) राख्नु, दषिनको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ ।

देशका महाजनहरु हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन्’ भन्ने पृथ्वीनारायण शाहको दूरदर्शी थिए, जुन अहिलेसम्म उत्तिकै सान्दर्भिक छन् । यसक्षेत्रमा एक सपुत राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म हुनु नेपालीहरुको अहोभाग्य हो ।

ईन्द्रजात्राको अवसरमा कुमारीको पूजागर्दा पृथ्वीनारायण शाहको स्मरण हुन आउँछ । शााक्य बंशकी कुमारी कन्यालाई भगवतीको अवतार मानेर जीवित देवीको रुपमा सुख–समृद्धि तथा मांगालिक कार्यका निमित्त रक्षकको रुपमा कुमारीलाई तुलजा भवानीको अवतारको रुपमा हिन्दु तथा बौद्धहरुले सभक्ति आराधना पूजा गर्ने गर्छन् ।

कुमारी हुनको लागि कतै चोटपटक नलागेकी, रजश्वला नभएकी, निडर शाक्य वंशकी कन्यालाई स्थापना गरिन्छ । ईन्द्रजात्राको दिनमा कुमारीको साथसाथै कुमार बालखहरुलाई गणेश र भैरवको रुपमा रथारोहण गराइन्छ । रथयात्राको दिन नेपालका राजा, रानी, जनताका प्रतिनिधि तथा जनताहरुबाट रथयात्रामा कुमारीको दर्शन गर्ने परम्परा रहिआएको छ ।

नेपालको राजा र कुमारीको कुण्डली मिल्नुपर्छ भन्ने किंवदन्ती छ । कुमारी घरका प्रमुख पुजारीको सिफारिसमा नेपालका राजाले कुमारीलाई भवानीको अवतारको रुपमा स्वीकार्ने प्रचलन छ ।
कुमारी घर काठमाडौं हनुमानढोकाको दक्षिणतर्फ अवस्थित छ । तलेजु भवानीको प्रतापले मातृशक्तिको पौरखको रुपमा पनि कुमारीको महानतालाई अंगीकार गर्ने गरिन्छ ।