• असार २५ २०८१, सोमबार

दाङमा टिकटक बनाउने सुविधा सहितका खाजा पसल खुल्न थाले

आश्विन ११ २०७८, सोमबार

घोराही, १० असोज ।

आधुनिक र युवा लक्षित बेञ्चहरु राखिएको प्यान्डोरा क्याफे २०७७ फागुन दुई गते घोराही १५ जेसीस मार्गमा खुल्यो । त्यसको उद्घाटन कार्यक्रममा नयाँ पुस्ताका र बजारियाको बाहुल्यता देखिन्थ्यो । यस्ता अंग्रेजी नामसहित खुल्ने नयाँ पसलहरुमा पछिल्लो पुस्ता लालायित हुन्छ ।

त्यसले नयाँनयाँ स्वाद दिने र दाङमै नचलेको परिकार चखाउने लक्ष्य रहेको सञ्चालक अनिश अधिकारी बताउनु हुन्थ्यो । उहाँले आकस्मिक सेवा दिने लक्ष्य रहेको सुनाउनु भयो । त्यसो त डिजाइन भने निकै आकर्षक थियो । भुइँ, भित्ता र सिलिङ चम्चमाउँथ्यो । किचनमा बस्नेहरुको सरसफाइमा सजकता थियो । भाँडा वर्तन तथा सफा वातावरणमा निकै मेहनत र खर्च गरेको बुझिन्थ्यो ।

उहाँले नेपकिन पेपरको प्रयोग, कुलिनले पटकैपिच्छे टेबुल सफा गर्ने, डिष्पोजेवल प्लेटहरु प्रयोग गर्ने अधिकारीले सुनाउनु भयो । किचेनका उपकरण धुवाँमुक्त आधुनिक थिए । सेल्फ सर्भिस थियो । वेटरले फोहोर गरेको छ कि भन्ने शंका गर्ने ठाउँ रहेन । बिलिङदेखि सबैमा टेक्नोलोजी थियो ।

लकडाउनकै बेलामा आफन्त जलपान गृह तुलसीपुर चोक खुल्यो । पाकिसकेका समोसा, जेरी, पकौडी लगाएत कुनैपनि खानेकुरा फोहोर पस्ने गरी खुला नराख्ने प्रेम बुढाथोकीले बताउनु भयो । उहाँले पनि पकाउने, खाने र काउन्टर तीनखण्ड बनाउनु भएको छ । भित्ता र सिलिङ उचित रंगरोगनले सजाउनु भएको छ । पसल सुरु गर्नु अघि नै भुईंलाई चम्किलो पारिएको थियो ।

गत सोमबार घोराही–१४ राप्ती टोलमा फ्लेवर बेकरी उद्घाटन गरियो । त्यहाँ ‘अटोलक’ हुने ढोका छ । खोलेर ग्राहकभित्र पसेपछि सिसाको ढोका आफै बन्द हुन्छ । भित्र कुनै किसिमको धुलो पस्न पाउँदैन । झिंगा, कीरा तथा अन्य कुनै पनि हानिकारक कुरा छिर्न सक्दैनन् । सुरक्षित छ ।

भित्र सोकेसमा बेकरीहरु सजाइएको छ । आधुनिक डेस्क र आरामदायी कुर्सी छन् । भूईं मार्बलले चमक्क चम्कन्छ । सिलिङहरु अनेक बुट्टा तथा आधुनिक बल्वले झकिझकाउ देखिन्छन् । विद्युतीय मेसिनबाट चिया कफी पाक्छ ।

त्यसबाट पनि धुवाँ तथा अन्य प्रदषणको खतरा छैन । उद्योग समेत सरसफाइमा कुनै कमी नराखेको फ्लेवर सञ्चालक प्रदीप गिरीले जानकारी दिनुभयो ।

भान्सामा बस्नेहरुले हेड क्याप लगाएका, पकाउने ठाउँ पनि सफासुग्घर रहेको र खानेठाउँ अलग बनाइएको शिवम फास्टफुड एण्ड चाट सेन्टर भदौ १६ गते शहीद उमेश मार्गमा उद्घाटन गरियो । सजिलोसित बसेर चाट फुल्की खान पाइने पहिलो पसल भनेर अतिथिले टिप्पणी गरे । होम डेलिभरीको सुविधा पनि रहेको सञ्चालक शिव पाण्डेयले जानकारी गराउनु भयो ।

अहिले पढेलेखेका युवाहरुले आधुनिक डिजाइनका खाजा पसल खोल्न थालेको दाङ देउखुरी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष रुद्रबहादुर डाँगी बताउनुहुन्छ । उहाँका अनुसार ग्राहकको आकर्षण नयाँ डिजाइनमा छ । त्यहिँ टिकटक बनाउन र रमाउन चाहने ग्राहकको बाहुल्यता छ ।

‘बिरा र गुन्द्रीमा बसेर चिउरा मासु खानेबाट घोराहीमा होटल सुरु भएका हुन्’ विगत १५ वर्षदेखि होटल गर्दै आउनु भएका नि अध्यक्ष डाँगीले भन्नुभयो, ‘अहिले विदेशको सिको गरेका होटल बने, तिनलाई भ्याइनभ्याई छ ।’

उहाँले आफ्नो युनिक होटलमा पनि बाहिरै बेसिन राखिदिनु भएको छ । निम्नस्तरका होटलले समेत बोत्तलको तथा जारका पानी खुवाउने वातावरण बनेको बताउनु हुन्छ । सुविधा नभएका फोहोर होटलमा ग्राहक घट्दै गरेका छन् । महंगा भएपनि सुन्दर सजावट र सफा होटल बढि चल्छन् ।