काठमाडौं । एमाले निकट नेपाल निजामती कर्मचारी संगठन फुटेपछि संगठनको कार्यालय र सम्पत्ति कब्जा गर्न दुई पक्षको होडबाजी सुरु भएको छ । भवन कब्जा गर्ने नाममा गत साता दुई पक्षको भिडन्तसमेत भएको थियो ।
बबरमहलस्थित संगठनको कार्यालय रहेको भवनलाई दुवै पक्षले आफ्नो भएको दाबी गरेका छन् । उक्त भवनमा असोज ४ गते रातिदेखि प्रहरीले ताला लगाएको छ। भवन कब्जा गर्न गत असोज ४ गते साँझ दुई पक्षका कर्मचारीबीच भिडन्त भएपछि प्रहरीले भवनमा ताला लगाएको हो ।
भिडन्तमा उत्रेका कर्मचारीहरूलाई प्रहरीले केहीबेर नियन्त्रणमा समेत लिएको थियो ।
२०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री भएका बेला तत्कालीन सरकारले निजामती कर्मचारी संगठनलाई कार्यालय भवन बनाउन १४ आना जग्गा भोगाधिकारको लागि दिएको थियो । सरकारले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेस केन्द्रित दल निकट चारवटा कर्मचारी संगठनलाई एकरएक रोपनी जग्गा भोगाधिकारका लागि उपलब्ध गराउने निर्णय गरेको थियो ।
सो अनुसार अन्य तीन कर्मचारी संगठनलाई एकरएक रोपनी जग्गा दिइएको थियो भने निजामती कर्मचारी संगठनलाई १४ आना जग्गा उपलब्ध गराएको थियो । सरकारले उपलब्ध गराएको जग्गामा २०६७ सालमै तत्कालीन प्रधानमन्त्री खनालले भवन निर्माणका लागि शिलान्यास गरेका थिए ।
भवनको निर्माण काम पूरा भएपछि २०७३ कात्तिकमा माधव नेपाललको भवनको उद्घाटन गरेका थिए । संगठन विभाजित भएपछि संगठनको कार्यालयलाई दुवै पक्षले आफ्नो भएको दाबी गर्दै अर्को पक्षले गुण्डागर्दी शैलीमा भवन कब्जा गर्न खोजेको आरोप लगाए ।
भवनमा ताला लगाएपछि एमाले निकट कर्मचारीहरूले आइतबार प्रधानमन्त्री तथा मुख्यसचिवलाई ज्ञापन पत्र बुझाई भवनमा लगाइएको ताला खुलाउन माग गरेका छन् । कर्मचारी संगठनका ७७ वटै जिल्ला समितिहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाई तत्काल भवनमा लगाइएको ताला तत्काल खुलाउन माग गरेका छन् ।
यसैगरी केन्द्रीय नेताहरूले आइतबार मुख्यसचिवलाई ज्ञापन पत्र बुझाई कार्यालय भवनमा लगाइएको ताला खुलाउन आग्रह गरेका छन् ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।