• मंसिर ८ २०८१, शनिबार

किन पोतिन्छ ऐनाको शिशापछाडि रातो रङ ?

आश्विन १० २०७८, आईतवार

हामीले दैनिक ऐनाको शिशामा आफ्नो अनुहार हेर्छौं । अनि मात्र आफ्नो अनुहार कस्तो छ भनेर थाह पाउँछौं । घरमा बस्दा कमै ऐना हेरे पनि बाहिर जानु परेमा भने ऐना हेरेर नै निस्कन्छौं । आफूले लगाएको पहिरन मिलेको छ कि छैन भनी ऐना हेर्ने गरिन्छ ।

अनुहारमा कतै कालो पोतिएको भएमा वा लगाएको ड्रेस नमिलेको देखिएमा ‘ऐना पनि हेरिनस्’ भनेर सोध्ने गरिन्छ । यसले प्रश्न सोधिएको मानिसलाई अत्याउँछ र ऐना खोज्न वा छेवैंको साथीलाई ‘ए के मिलेन, अनुहारमा कालो छ ? भनिदेऊ न है !’ भनी सोध्न जरुर लगाउँछ ।

ऐना सबैको घरघरमा राखिएको हुन्छ । यसले मानिसलाई सफासुग्घर बनाउन, आकर्षक देखिन, केही हौसला र प्रेरणा लिन सहयोग पुर्याउँछ । व्यक्तित्व विकासमा पनि यसले ठूलै मद्दत गर्ने गर्दछ ।

यसरी आफ्नो अनुहार देखाउने र आफैलाई आफूसँग परिचित गराउने ऐनाको शिशाको पछाडितिरको भागमा रातो रङ किन पोतिएको हुन्छ भन्ने कुरा ख्याल गरेका हुँदैनौ । हरेक ऐना शिशाको पछाडितिर रातो रङ पोतिएकाले नै हामीले रङ नपोतिएको शिशामा आफ्नो अनुहार हेर्छौं र हेर्न पाइरहेका हुन्छौं ।

यसैका कारण अघिल्तिरको शिशाले हाम्रो प्रतिविम्ब जस्ताको तस्तै उतारिदिन्छ । ऐना पछाडि पोतिएको रातो रङ वास्तवमा एक प्रकारको पारोमर्करिक–अक्साइड हो । यो बाक्लो हुन्छ । उक्त पारोले गर्दा ऐनाको पारदर्शितालाई रोकिदिन्छ ।

पारदर्शिता रोकिएपछि ऐनामा आफ्नो अनुहार हेर्न मिल्ने खालको हुन्छ । कारण हो, पारो ऐनामा पोतेपछि यसले प्रकाशलाई परावर्तन गरिदिन्छ । प्रकाश परावर्तनकै कारण हामीले ऐनामा आफ्नो अनुहार देख्न सक्छौँ ।