• मंसिर १२ २०८१, बुधबार

जनतामा कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन : केपी ओली

आश्विन १० २०७८, आईतवार

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारको पालामा असाधारण काम भएकोले जनतामा कसरी भोट माग्न जाने होला भन्ने स्थिति नरहेको बताएका छन् । ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि उठेका प्रश्नको आइतवार जवाफ दिँदै ओलीले देश विकासको भिजन दिएकोले जनतामा जानका लागि प्रशस्त आधार रहेको बताए । एमालेसँग विचार र भिजनको कमी नभएको उनको भनाइ थियो ।

‘जनताकोमा कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन । केही काम नगरेका र खराब गरेकाहरू त चुनावमा जाने भन्दैछन्,’ ओलीले भने, ‘जनताको पक्षमा असाधारण काम भएका छन् । यो कुराको झलक राजनीतिक प्रतिवेदनमा छ ।’

ओलीले सरकारमा छँदा असाधारण काम गरेको र देश विकासको भिजन दिएको दाबी गरे । ‘हामीसँग भिजन छ, नेपालमा पहिलो पटक विकासको व्यापक चर्चा गर्ने काम हामीले गरेका छौं । राष्ट्रियतासम्बन्धी भिजन छ, लोकतन्त्रको उन्नत भिजन छ । हामीसँग भिजन र दृष्टिकोण छ,’ उनले भने।