यस वर्षको दसैं तथा तिहार पर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीका आठ जिल्लालाई लक्षित गरी मनसुली चामल पठाएको छ । तर पठाइएको मनसुली चामल अखाद्य रहेको खाद्य प्रविधि विभागले नै जनाएको छ ।
खाद्य प्रविधि विभागले अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालामा जाँच गरीे खानयोग्य नभएको भनेर नष्ट गर्नका लागि सुझाव दिएको चामल कर्णालीको राजधानी सुर्खेतमा पुगिसकेको छ ।
पूर्ण सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको आफ्नो गोदाममा वर्षौंसम्म थन्किएर रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन वास्मती चामल साउन र भदौका बीचमा सुर्खेत पुर्याएको हो ।
दसैंतिहारको मौका पारेर कुहिएको मन्सुली चामल बिक्रि गरेमा यसले जनस्वास्थ्यमा निकै गम्भीर असर पार्ने विज्ञहरुको चिन्ता छ । पहिलेदेखि नै निकै विवादमा आएको उक्त कुहिएको खाद्यान्न नस्ट गर्नुपर्ने आवाज उठिरहेको थियो । सञ्चार माध्यममा पनि यसले निकै स्थान पाएको थियो ।
तर हाल केही नयाँ मन्सुली चामल मिसाएर कुहिएकोलाई पोलिस गरी नयाँ बोरामा प्याक गरेर पठाइएकाले यसले सुर्खेतका खाद्य कर्मचारीलाई पनि अलमलमा पारेको छ । सामान्य स्तरका चामल पनि मुस्किलले पुग्ने कर्णालीमा यसपटक भने मन्सुली चामल पठाइएकाले कर्मचारी पनि आश्चर्यका परिरहेका छन् ।
यता काठमाडौंमा कुहिएको चामल नष्ट गर्न दबाब परिरहँदा खाद्यका कर्मचारी र सम्बन्धित विभाग कारवाहीमा पर्ने डरले चूपचाप थिए । भित्रभित्र के गरी कुहिएको वास्मती चामल बिकाउने हो भनी योजना बनाइरहेका उनीहरु चामल पोलिस गर्न लागिरहेका थिए ।
चाडपर्व आएको मौका पारी खाद्य कम्पनीले हालैमात्र कर्णालीका दुर्गम जिल्लामा पठाउने उद्देश्यसहित त्यो चामल सुर्खेत पुर्याई भण्डारण गरिसकेको छ । विवादका बीचमा नयाँ बोरामा प्याक गरी पठाइएको मनसुली चामलको ४० लाख ४४ हजार बराबरको मूल्य रहेको छ । पोलिस गरिएको यो वास्मती चामल सबै थापाथलीस्थित चामल गोदाममा वर्षौंदेखि थन्केर रहेको थियो ।
यसबारेमा पत्रपत्रिकामा व्यापक रुपमा कुरा उठाइए पनि उक्त कुहिएको वास्मती चामल सुर्खेतबाट फिर्ता हुने संकेत देखिएको छैन ।