• मंसिर १२ २०८१, बुधबार

के-हो राष्ट्रियता ?

आश्विन १० २०७८, आईतवार

थुनबाट रगत आइञ्जेल निचोर्दा
पाप लागेन
फाटेको थुनबाट घाउका पाप्राहरु झरे
दुधको ठेकीमा
वाकवाकी लागेन
बाच्छाबाच्छीको सिंगान मिसिएको
र्याल दल्यो
सुकेको कल्चौँडोमा
जात गएन धर्म गएन
बुढेसकालमा
थानकोटको डाँडो कटाइदियो
सडकको प्लाष्टिक खाएर मर्यो बुढीगाई
कानुन लागेन
गाइको रगत मिसिएको जीवन चुसेर
भरे धर्मात्मा भनौंदाहरुले
आफ्नो रुढीवादको घैला
र लेखे विभेदकारी कानुनका उपधाराहरु
गाई काट्न लगाउनेहरु सत्तामा पुगे
र रुद्री पुजा लगाएर
मार्क्स र लेनिनलाईलाई गौदान गरेर
भञ्ज्याङ कटाए
शहरमा हल्ला चल्यो
गाई काटियो
रसुवा नुवाकोटका तामाङ समातियो
समात्न जानेले बिहान चपाएर गएको थियो
राँगाको सुकुटी
भाटा हान्नेले हसुरेर गएको थियो
सँगुरको साँप्रा
बहस गर्ने वकिलले दबाएर गएको थियो
चिकन र मटनको धारा र उपधारा
न्यायाधीश ज्यूलाई खुब मनपर्छ
हाँसको छोयला
मासु सबैको एउटै होइन र ?
के हो राष्ट ?
के हो राष्टियता ?
खसीको सुकुटी चपाउनेहरुको मात्र हो राष्ट ?
कि चिकन चिल्ली हसुर्नेहरुको मात्र हो राष्टियता ?
आज तिमीले जेल हालेको सार्कीको छोरो
भोलि यो देशको प्रधानमन्त्री बनेर
बोकालाई राष्ट्रिय जनावर घोषणा गर्यो भने
तिमी मान्छौ कि मान्दैनौ ?
त्यो समयमा सबैभन्दा ठूलो अपराधी को बन्ला ?
के सोचेका छौ ?
कि साकाहारी बन
प्राणी हत्या नगर
नत्र मासुको स्वादमा नलाग
तिम्रा विभेदकारी कानुनका उपधाराहरु ।
२०७८-०६-१०