• मंसिर ११ २०८१, मंगलवार

मध्यपश्चिममा गाइने ‘फाँक’ गीत काठमाडौंमा विमोचन

आश्विन १० २०७८, आईतवार

काठमाडौं । नेपाली मौलिक गीत ‘फाँक’को भिडियो विमोचन गरिएको छ । पश्चिम नेपालको पहाडी भू–भाग खासगरी मगर बाहुल्य पाखा र पखेरीहरुमा लामा-लामा भाका हालेर गीत गाउँदै नाचिने तर हाल लोपोउन्मुख रहेको ‘फाँक’ गीतको म्युजिक भिडियो बुधबार नेपाल पर्यटन बोर्डको अडिटोरियम हलमा विमोचन गरिएको हो ।

रोल्पा र रुकुममा रहेका बाक्ला मगर बस्तीहरुमा परापूर्व समयदेखि गाइँदै र नाचिँदै आएको सो गीत खासगरी मगरहरुको भूमे पूजा, दशैं, तिहार र माघे संक्रान्तिहरुमा युवा युवती, बुढापाकाहरुले आ-आफ्नो जोडी बनाएर गाइने र नाचिने गरिन्छ ।

नेपाल मगरसंघका अध्यक्ष नविन रोकामगर

लोक संगीतकर्मी तिलक रोकामगरको शब्द संकलन रहेको सो गीतलाई विमोचन गर्न भूमे समाज काठमाडौँले कार्यक्रम आयोजना गरेको थियो । गीत विमोचन गर्न आयोजित कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकामगरले फाँक गीत र नाच रोल्पा रुकुमका मगरहरुको मात्रै नभएर पुरै नेपालको नै भएको धारणा व्यक्त गरे ।

नेपाल देश र नेपाली समाज स्थापना गर्न महत्वपूर्ण भूमिका खेलको जाति र समुदाय भनेको मगर नै हो भन्दै त्यहि जाति र समुदायका परम्परा र संस्कृतिलाई राज्य सत्ताले दमन गरेको उनले बताए । समृद्ध भएका जुनै देशहरुपनि जात जातिहरुको भाषा र संस्कृति संरक्षण गरेर मात्रै समृद्ध भएको तर्क गर्दै प्रमुख अतिथि रोकामगरले भने, ‘नेपालमा विभिन्न जाति र जनजातिहरुको भाषा र संस्कृतिलाई संरक्षण नगरेको कारण समृद्ध हुन सकेन ।’

जाति र जनजातिहरुको विकास र उत्थान नभएकोले हाम्रो देश विकासमा पछि परेको उनले जिकिर गरे । देश चलाउन मगरको सहभागिता अनिवार्य भएको भन्दै नेपालका केही राजनैतिक नेताहरु अनुहारले मगर भएपनि मन र मस्तिष्कले मगर नभएको बताए । नेपालका हरेक राजनैतिक परिवर्तनहरुमा मगरहरुको ऐतिहासिक भूमिका भएको बताउँदै उनले मगर आफ्ना लागि मात्रै नभएर यो देशका सबैको लागि लडेको उल्लेख गरे ।

नेपालको राज्य सत्ताले मगरहरुलाई ‘आफ्ना अधिकारका कुरा गरेर बस तर राज्य सत्ता चलाउन चाहिँ नआऊ’ भन्ने खालको व्यवहार गरेको भन्दै उनले मगरहरुको गुनासो व्यक्त गरे । अब मगरहरुमा सामाजिक चेतनासँगै राजनैतिक चेतना आउनु पनि जरुरी भएको उनको भनाई थियो ।

कार्यक्रममा सम्बोधन गर्दै चन्द्र रिजाल

विमोचन कार्यक्रममा विशेष अतिथि नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले संस्कृति हरायो भने मानवको अस्तित्व पनि हराउने हुँदा कसैले पनि आफ्नो संस्कृतिलाई भुल्न नहुने बताए । पर्यटन प्रवद्र्धनका लागि संस्कृतिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै रिजालले जन्मको आधारमा मानिस मानिसबीच भेदभाव हुने कुरा संस्कृति नभएर कुसंस्कृति भएको बताए ।

कार्यक्रममा अर्का विशेष अतिथि नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरले संस्कृतिको धनी जाति मगर नै भएको बताउँदै मगरहरुको आदिथलो रोल्पा र रुकुमतिर गाइने ‘फाँक’ गीतले मगरको पहिचान बोकेको धारणा व्यक्त गरे । कार्यक्रममा लुगुमेल समाजका अध्यक्ष हर्क घर्तीमगर, मगर चलचित्रका निर्माता तथा निर्देशक ध्रुर्व पुनमगर लगायतले विमोचित फाँक गीत र मगर संस्कृतिबारे चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल मगर खेलकुद संघका संस्थापक अध्यक्ष मानबहादुर पुनमगर, अथार मगराँत प्रतिष्ठानका अध्यक्ष झबिन्द्र घर्तीमगर, अथार मगराँत कलाकार संघका तिलक पुनमगर, तकसेरा समाज काठमाडौँका अध्यक्ष मानबहादुर बुढामगर, समाजसेवी गिमान पुनमगर, चर्चित जनकलाकार मोहित श्रेष्ठ, लोक कलाकार झलक थापामगर लगायत अतिथि रहेका थिए ।

फाँक गीतको भिडियो विमोचन कार्यक्रम भूमे समाजका अध्यक्ष महेश बुढामगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन कलाकर नन्द घर्तीमगरले गरेका थिए । कार्यक्रममा उपस्थितहरुलाई समाजका वरिष्ठ उपाध्यक्ष मदन रोकामगरले स्वागत मन्तव्य दिएर स्वागत गरेका थिए ।

कार्यक्रममा सो गीतको निर्माणदेखि भिडियो निर्माणसम्म जोडिएका सर्जक कलाकारहरुलाई सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो भने कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरुलाई मगर संस्कृति झल्काउने सेतो टिका, दुबो र पाती लगाइदिएर स्वागत गरिएको थियो ।

आयोजकहरुले ऐतिहासिक सांस्कृतिक एवं मौलिक भनेर विमोचन कार्यक्रम गरेको सो फाँक गीत रोल्पा र रुकुममा रहेका बाक्ला मगर वस्तीहरुमा परापूर्व समयदेखि गाइँदै र नाचिँदै आएको गीत र भाका हो । बुढापाकाहरुका अनुसार फाँक गीत भनेको प्वाँख गीत अथवा प्वाँख जोर गीत समेत भनेर बुझिन्छ। । यसको अर्थ प्वाँखमा प्वाँख जोडेर नाच्ने गीत समेत हुनजान्छ । यो गीत एक धर्के, दुई धर्के, तीन धर्के र दोहोरे गरेर विभिन्न लयमा गाएर नाचिने गरिन्छ भनेर मगर अगुवाहरु भन्ने गर्छन् । यो गीत र भाकालाई मगरहरुले विशेष गरेर भूमे पूजा दशैं र तिहार माघे संक्रान्तिहरुमा रमाइलोका साथ गाएर नाँचेको पाइन्छ ।