• मंसिर १२ २०८१, बुधबार

बहिनी बलात्कार गरेको आरोपमा नेपाली युवालाई भारतमा मृत्युदण्ड

आश्विन १० २०७८, आईतवार

काठमाडौं । सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड) को सजाय दिइएको छ ।

भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले फाँसीको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए ।

गाउँमा बुबाआमाको मृत्युपछि सौतेनी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएको बताइएको छ । पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरी अदालतमा आरोपपत्र दर्ता गरेका थिए ।

प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा. ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले शुक्रबार आरोपीलाई फाँसी दिएर मृत्युदण्डको सजाय सुनाएको पत्रिकामा उल्लेख छ । उक्त सजाय भारतीय अपराध दण्ड संहिताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको छ । यो समाचार राजधानी दैनिकमा छ ।