काठमाडौं । नेपाली व्यापारीले दशैँका लागि ल्याउन लागेका सामान चीनको खासामा रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी मालबाहक कन्टेनर लामबद्ध छन् ।
चिनियाँ पक्षले बिनाकारण उक्त कन्टेनर रोकेर दुःख दिएको नेपाली व्यापारीले जनाएका छन् । चिनियाँ पक्षले खटाई–खटाई कन्टेनर नेपाल पठाउने भएपछि चिनियाँ भूमिमा नै सामान बोकेका कन्टेनर रोकिएका छन् ।
दशैँका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए ।
सीमित कन्टेनर नेपालतर्फ आउँदा सबै कन्टेनर नेपाल भित्रिन महिनौँ लाग्ने अध्यक्ष श्रेष्ठले गुनासो गरे । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।